२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन मिति तय नहुँदै उम्मेदवारी घोषणा, घोराहीको मेयरमा गणेश वेलवासेले स्वतन्त्र उम्मेदवारी दिने

सामाजिक अभियन्ता तथा चलचित्रकर्मी गणेश वेलवासेले आगामी स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

घोराहीस्थित लिटिल फरेस्ट मा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै उपमहानगरपालिकाभित्र रहेका १९ वटै वडाका नागरिकका समस्या समाधान गर्दै समृद्ध, सुशासित र नागरिकमैत्री नगर निर्माण गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका हुन्।

वेलवासेले आफू लामो समयदेखि दलगत राजनीतिभन्दा माथि उठेर सामाजिक सेवामा सक्रिय रहेको उल्लेख गर्दै जनताको विश्वास, सुझाव र सहभागितालाई आधार बनाएर नगरको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

“म कुनै राजनीतिक दलको होइन, घोराहीका नागरिकको उम्मेदवारका रूपमा चुनावमा जाँदैछु,” उनले भने।

उनले निर्वाचित भए शून्य भ्रष्टाचार, डिजिटल सेवा प्रणाली र सुशासन लाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए। साथै, लागुऔषध दुव्र्यसनमुक्त तथा मदिरामुक्त घोराही निर्माणका लागि विशेष अभियान सञ्चालन गरिने उनको भनाइ छ।

वेलवासेका अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जना उनका प्रमुख प्राथमिकता हुन्। उनले यी क्षेत्रमा विगतदेखि अपेक्षाअनुसार विकास हुन नसकेको उल्लेख गर्दै जनताको आवश्यकता र स्थानीय स्रोत–साधनको उपयोगका आधारमा योजनाबद्ध रूपमा विकास कार्यक्रम अघि बढाइने बताए।

उनका अनुसार नगर प्रशासनलाई पूर्ण रूपमा पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाइनेछ। सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउँदै नागरिकले सहज रूपमा सेवा प्राप्त गर्न सक्ने वातावरण तयार गरिने उनको प्रतिबद्धता छ।

घोराहीलाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको उपयोग गर्दै समृद्ध नगरका रूपमा विकास गर्न स्पष्ट योजना र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै वेलवासेले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए।

प्रकाशित: १६ असार २०८३ २०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App