नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई जनतासँग जोडेर सङ्गठन सुदृढ बनाए आगामी दिनमा पुनः देशको निर्णायक शक्ति बन्न सकिने बताएका छन्।
शनिबार पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले सङ्गठन निर्माण र जनपरिचालन नै आगामी सफलताको मुख्य आधार हुने उल्लेख गरे।
उनले विगतमा २०६४ र २०७४ को निर्वाचनमा कम्युनिस्ट शक्तिले हासिल गरेको ऐतिहासिक परिणामलाई पुनः दोहोर्याउन सकिने दाबी गरे।
‘हामीले परिस्थितिको गम्भीर समीक्षा गर्दै सङ्गठनलाई बलियो बनाएर जनतामाझ जानुको विकल्प छैन,’ दाहाल भने, ‘त्यसो गर्न सके अर्को पटकको निर्वाचनमा हामी फेरि २०६४ वा २०७४ को जस्तै निर्णायक शक्तिका रूपमा स्थापित हुन सक्छौं।’
उनले ६ महिनाभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित तल्लो तहदेखि नै सङ्गठन पुनर्गठनको प्रक्रिया सुरु भएको जानकारी दिए।
पार्टीभित्रको आन्तरिक समीक्षालाई सूक्ष्म रूपमा अघि बढाएर कमजोरीहरू सुधार्ने र नयाँ कार्ययोजनाका साथ अघि बढ्ने उनको प्रतिबद्धता थियो।
संयोजक दाहालले कार्यकर्ताहरूलाई सङ्गठनको शक्ति र जनताको विश्वास आर्जन गर्न निर्देशन दिँदै निराशा त्यागेर सक्रिय हुन आह्वान गरे।
सङ्गठन सुदृढ भए जुनसुकै राजनीतिक परिस्थितिको सामना गर्न सकिने र प्राप्त उपलब्धिहरूको रक्षा गर्न सकिने उनको ठहर थियो।
प्रकाशित: २८ चैत्र २०८२ १८:०७ शनिबार





