सभामुख डोल प्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना अब निर्माणको चरणमा प्रवेश गरिसकेको बताएका छन्। धादिङमा आज बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गर्दै उनले आयोजना बन्छ कि बन्दैन भन्ने लामो समयदेखिको अन्योल अन्त्य भएको बताए।
सभामुख अर्यालले बूढीगण्डकीलाई विद्युत् उत्पादनमा मात्र सीमित नराखी बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाका रूपमा विकास गरिने स्पष्ट पारे। यसले धादिङ, गोरखा र चितवनको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउनुका साथै रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, स्थानीय उत्पादनको बजारीकरण र विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
आयोजना कार्यान्वयनका लागि आवश्यक कानुनी तथा संस्थागत संरचना निर्माणको काम अघि बढिरहेको जानकारी दिँदै उनले बूढीगण्डकी विकास प्राधिकरणसम्बन्धी विधेयकको अन्तिम मस्यौदा तयार भइरहेको र संसद्को अधिवेशन सुरु भएको दुई साताभित्र सदनमा पेस गर्ने लक्ष्य रहेको बताए। आयोजना निर्माणका क्रममा प्रभावित नागरिकको मुआब्जा, पुनर्स्थापना, बस्ती विकास तथा सम्पदा संरक्षणका विषय न्यायोचित ढङ्गले सम्बोधन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
सभामुख अर्यालका अनुसार आयोजनाको अनुमानित लागत साढे चार खर्ब रुपैयाँभन्दा बढी रहेको छ। प्रारम्भिक कामका लागि डेढ अर्ब रुपैयाँ विनियोजन भइसकेको र थप डेढ अर्ब रुपैयाँ उपलब्ध गराउन सरकार तयार रहेको उनले जानकारी दिए। निर्माण कार्यलाई निर्धारित समयभन्दा अगाडि सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले नियमित रूपमा प्रगति समीक्षा गरी सम्बन्धित निकायलाई जवाफदेही बनाउनुपर्ने बताए।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी आयोजनालाई जलविद्युत् उत्पादनमा मात्र सीमित नराखी पर्यटन, औद्योगिक विकास, वातावरण संरक्षण र व्यवस्थित बस्ती विकाससमेत समेटिएको बहुआयामिक राष्ट्रिय गौरवको परियोजनाका रूपमा अघि बढाउनुपर्ने बताए। आफू प्रधानमन्त्री हुँदा विकास समितिलाई कम्पनीमा रूपान्तरण गरी आयोजना निर्माणलाई गति दिने प्रयास गरिएको स्मरण गर्दै उनले प्रभावकारी कार्यान्वयनका लागि अधिकारसम्पन्न प्राधिकरण र छुट्टै ऐन आवश्यक रहेको धारणा राखे। प्रभावित क्षेत्रका नागरिकको सहजताका लागि बेनीघाट–आरुघाट–लार्केसम्मको सडक स्तरोन्नति गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
त्यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बूढीगण्डकी आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। आयोजनाले माग गरेअनुसार आवश्यक आर्थिक स्रोत उपलब्ध गराउने वातावरण सरकारले बनाउने उल्लेख गर्दै उनले आयोजना सफलतापूर्वक निर्धारित समयभित्रै सम्पन्न हुने विश्वास व्यक्त गरे।
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको ऊर्जा सुरक्षा, पूर्वाधार विकास तथा आर्थिक समृद्धिका दृष्टिले महत्वपूर्ण राष्ट्रिय आयोजना हो। यसको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकार, जनप्रतिनिधि, स्थानीय नागरिक र सम्बन्धित सबै पक्षबीच समन्वय, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।
प्रकाशित: ९ मंसिर २०८३ १८:१३ बुधबार





