५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

बजेट खर्चमा कोशी सात प्रदेशकै पहिलो बन्यो: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट खर्चका हिसाबमा कोशी प्रदेश पहिलो बनेको दाबी गरेका छन् । मंगलबार प्रेस चौतारी मोरङले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले बजेट खर्चका हिसाबमा कोशी प्रदेश पहिलो बनेको दाबी गरेका हुन् ।  

मुख्यमन्त्री कार्कीले आर्थिक वर्ष ०८१/०८२ मा कोशी प्रदेशमा ८१ प्रतिशत खर्च भएको बताए । कार्कीले आन्तरिक राजस्व संकलन पनि कोशी प्रदेशमा बढेको उनले बताए । कार्कीका अनुसार अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशत आम्दानी बढेको छ । दुई ठूला पार्टीको संयुक्त सरकार बनेसँगै सरकार स्थिर हुँदा समग्र देशको आर्थिक अवस्थामा सुधार आएको कार्कीले बताए । उनले भने,‘राजनीतिक स्थिरताले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको देखिएको छ ।’ 

चालु आर्थिक वर्ष पनि कोशी सरकारले ल्याएको बजेटले लिएको लक्ष पुरा गर्ने कार्कीको दाबी छ । मुख्यमन्त्री कार्कीले सरकारका विषयमा उठेका प्रश्नको जवाफ क्रमशः काम गरेर नै दिँदै जाने बताए । कार्कीले कोशी प्रदेशमा सम्पन्न भएको लगानी सम्मेलनमा प्रदेश सरकार र निजी क्षेत्र बिच समझदारी भएका ५१ आयोजना मध्ये  १२ वटा आयोजना कार्यान्वयनमा लैजान लागिएको जानकारी दिए । 

लगानी सम्मेलनका कार्य योजनाहरू कार्यान्वयन भएसँगै कोशी प्रदेशमा पुँजी परिचालन, रोजगारी सृजना र आर्थिक वृद्धिमा टेवा पुग्ने कार्कीको धारणा छ । कार्यक्रममा यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट विराटनगरका पत्रकार सुदिप कोइराला पुरस्कृत भएका छन् । १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशीको पुरस्कार र सम्मान पत्र  मुख्यमन्त्री कार्कीले पत्रकार कोइरालालाई हस्तान्तरण गरेका थिए ।  

प्रकाशित: १३ श्रावण २०८२ १७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App