नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन्।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लामो वक्तव्य सार्वजनिक गर्दै उनले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी गराएका हुन्।
कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विष्टले ८७५ मत मात्र प्राप्त गरेपछि पराजय व्यहोर्नुपरेको थियो। अध्यक्ष केपी शर्मा ओली समूहबाट टिकट पाउनेमा विश्वस्त रहेका उनी अन्तिम समयमा ओलीको आधिकारिक सूचीमा नपरेपछि ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका थिए।
सुर्खेत निवासी विष्ट तत्कालीन नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला कर्णाली प्रदेश सभा सदस्य पद त्याग्दै एमाले प्रवेश गरेका थिए। २०७४ सालमा सुर्खेत–१ (१) बाट माओवादी केन्द्रका तर्फबाट प्रत्यक्ष निर्वाचित उनी सांसद पद छाडेर एमालेमा आएको भए पनि पार्टी नेतृत्वले त्यसको कदर नगरेको गुनासो गरेका छन्।
राजीनामा पत्रमा विष्टले अध्यक्ष ओलीसँगको भेटमा आफूले ‘दास र मालिक’ जस्तो व्यवहार अनुभव गरेको गम्भीर आरोप लगाएका छन्। मंसिर २४ गते भएको ‘वन टु वन’ भेटवार्तामा ओलीले ‘सीसी बैठकमा किन त्यस्तो बोलेको? मलाई सबै थाहा छ’ भन्दै हप्काएको र आफूलाई सम्मानित कार्यकर्ताजस्तो होइन, क्षमादान माग्न आएको दाससरह व्यवहार गरिएको उल्लेख गरेका छन्।
विष्टले एमालेभित्र पूर्वमाओवादी तथा अन्य पार्टीबाट आएका नेताहरूलाई सधैं ‘अंगीकृत’ र दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गर्ने गरिएको आरोप पनि लगाएका छन्। उनले पार्टीभित्र ‘वंशज र अंगीकृत’ को वर्गीकरण गर्दै केन्द्रबाट संस्थागत रूपमा सूची वितरण गरिएको, साम–दाम–दण्ड–भेद प्रयोग गरी आफूजस्ता नेता–कार्यकर्तालाई योजनाबद्ध रूपमा पराजित गरिएको दाबी गरेका छन्।
जननेता मदन भण्डारीका विचारहरू सीमित गरिनुका साथै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समेत अपमान गरिएको उल्लेख गर्दै विष्टले एमाले नेतृत्व आदर्श, मूल्य र सिद्धान्तबाट विचलित भएको निष्कर्षसहित पार्टी परित्याग गरेको बताएका छन्।
प्रकाशित: ३ पुस २०८२ २१:३५ बिहीबार





