७ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

केन्द्रीय कमिटीमा विष्णु रिजालले भने: एमालेले सेनाबारेको दृष्टिकोण स्पष्ट पारोस्

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली सेनाबारे पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन्।

ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै रिजालले पछिल्लो समय पार्टीका नेताहरूबाट आएका अभिव्यक्तिले राज्यका स्थायी संरचनासँग एमालेको टकराव बढेको सन्देश गएको बताएका हुन्।

भदौ २३–२४ को घटनामा नेपाली सेनाको भूमिकाबारे थुप्रै प्रश्न अनुत्तरित रहे पनि सेनाले एमाले नेतृत्वको सुरक्षा र सहजीकरण गरेको उनले स्मरण गराए।

‘भदौ २३–२४ मा सेनाको भूमिकाबारे कैयौँ अनुत्तरित प्रश्न छन्। तर, सेनाले हाम्रो नेतृत्वको सुरक्षा र सहजीकरण गरेको छ,’ रिजालले भने, ‘नेकपा (एमाले) को आजको मुख्य निशाना नेपाली सेना नै हो जस्तो गरेर संसद्मा बारम्बार प्रस्तुत हुनुले नेकपा (एमाले) कै दृष्टिकोण त्यही हो कि भन्ने भ्रम उत्पन्न भएको छ र राज्यको स्थायी संरचनासँग हाम्रो टकराव बढाएको छ। यसका बारेमा पार्टीले स्पष्ट पार्नुपर्छ।’

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनले पार्टीका कमजोरी पहिचान गर्दै निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएको भन्दै रिजालले प्रतिवेदनप्रति समर्थन जनाए। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको व्याख्यापछि पार्टीका शीर्ष नेताबीच देखिएको अविश्वास पनि कम हुँदै गएको उनको भनाइ थियो।

रिजालले आगामी स्थानीय निर्वाचनलाई पार्टीको मुख्य कार्यभार बनाएर केन्द्रीय कमिटी सदस्यलाई आ–आफ्नो पालिका जिताउने जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरे। उम्मेदवार छनोट प्रक्रियादेखि नै केन्द्रीय सदस्यलाई संस्थागत रूपमा सहभागी गराउनुपर्ने उनले बताए।

रिजालले एमालेको नेतृत्वमा नेकपालगायत वामपन्थी दलसँग एकताको निर्णय गर्नुपर्नेमा पनि जोड दिए। वाम एकताले कम्युनिस्ट आन्दोलनलाई पुनःस्थापित गर्न सहज हुने भन्दै उनले समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठनबारे गम्भीर बहस आवश्यक रहेको बताए।

‘आजकै नारा, सिद्धान्त, रणनीति, कार्यनीति, कार्यशैली र सरकारदेखि सरकारसम्मको गोलचक्करप्रति नयाँ पुस्ता कत्ति पनि आकर्षित छैन,’ उनले भने। त्यसका लागि मदन भण्डारीले विगतमा चालेजस्तै साहसिक कदम आवश्यक रहेको उनको धारणा थियो।

डिजिटल चुनौती सामना गर्न एमालेले छुट्टै संरचना निर्माण गर्नुपर्ने रिजालको प्रस्ताव छ। केन्द्रमा २४ घण्टा सक्रिय रहने अलग डिजिटल विभाग गठन गरी प्रदेश र स्थानीय तहसम्म डिजिटल गतिविधि विस्तार गर्नुपर्ने उनले बताए।

पार्टीमा नयाँ पुस्ताको सहभागिता बढाउन विभागहरूमा कम्तीमा ५० प्रतिशत विज्ञ तथा युवालाई समेट्ने नीति लिनुपर्ने पनि रिजालले सुझाए। पार्टीसँग प्रत्यक्ष आबद्ध नभए पनि आफ्नो क्षेत्रमा राम्रो काम गरिरहेका योग्य, व्यवसायी तथा युवालाई खोजेर पार्टीमा जोड्नुपर्ने उनको भनाइ थियो।

रिजालले एमालेका पछिल्ला राजनीतिक नीति र नारामाथि समेत पुनर्विचार गर्नुपर्ने बताएका छन्। ‘निर्णायक राष्ट्रिय शक्ति’ बन्ने नारा, नेपालमा एमाले र कांग्रेस मात्रै रहने राजनीतिक विश्लेषण तथा ‘छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रता’ भन्ने नाराको वर्तमान सन्दर्भमा समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

२०७९ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनसमर्थनलाई एमालेले गम्भीर चुनौतीका रूपमा लिएर तयारी गर्न नसकेको भन्दै उनले पार्टीको त्यसबेलाको दृष्टिकोणमाथि समीक्षा आवश्यक रहेको बताए।

सरकार गठन र सत्ता गठबन्धनमा एमालेको निरन्तर सहभागिताले पार्टीलाई सत्ताभन्दा बाहिरबाट राजनीति र संगठनबारे सोच्ने अवसर नै नदिएको रिजालको टिप्पणी थियो।

उनका अनुसार २०४७ सालयता ३६ वर्षमा मुलुकमा २९ वटा सरकार बनेका छन्, जसमध्ये १७ वटामा एमाले सहभागी भएको र सातपटक सरकारको नेतृत्व गरेको छ। यही पृष्ठभूमिमा सधैँ सत्तामा सहभागी हुने कार्यनीतिले पार्टीको दीर्घकालीन रणनीतिलाई बलियो बनाएको हो कि एमाले स्वयं ‘सत्ता–बजारको उपभोक्ता’ बनेको हो भन्ने प्रश्नमा गम्भीर समीक्षा आवश्यक रहेको उनले बताए।

‘लाभका पदमा एउटै व्यक्ति कतिपटक जाने? समीक्षा गरौँ– या यो कार्यनीति फेरौँ, या त समाजवाद–साम्यवादको रणनीति फेरौँ,’ रिजालले बैठकमा भने।

 

प्रकाशित: ७ आश्विन २०८३ १६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App