१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

विप्लव, घनश्याम र जनार्दन एक ठाउँ: नेताबाट जनता टाढिएकोमा चिन्ता

पछिल्लो राजनीतिक अवस्था र जनता तथा नेताबीचको सम्बन्धलाई लिएर तीन कम्युनिष्ट नेताले चिन्ता व्यक्त गरेका छन् । नेकपा महासचिव विप्लव सी, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले संयुक्त वक्तव्य जारी गर्दै चिन्ता व्यक्त गरेका छन् ।  

मुलुकमा देखिएको असाधारण राजनीतिक अन्योल, सत्तासीन नेताहरूको गैरजिम्मेवारी र दलहरूको कमजोर भूमिकाले संकट पैदा भएको उनीहरूको निष्कर्ष छ ।

तीन नेताले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘राज्य, राजनीति, राजनीतिक दल र तिनका नेताहरू जनताबाट टाढिदै गएका छन् । सुधारका प्रयास असफल हुँदै गएपछि गत भदौ २३ गतेको जेन् जी आन्दोलन र २४ गतेको विध्वंशका घटनाले दलहरूको कमजोरी स्पष्ट पारेको छ ।’

तीन नेताहरूले हालको राजनीतिक घटनाक्रमले राष्ट्रियता, लोकतन्त्र र जनअधिकारलाई खतरामा पारेको भन्दै मुलुक असुरक्षित अवस्थातर्फ धकेलिँदै गएको उल्लेख गरेका छन् । उनका अनुसार पुराना दल र तिनका नेताहरू पुरानै संरचनामा अड्किएर वर्चश्व जोगाउने प्रयासमा लागेका छन्, जसले मुलुकलाई अझ अन्योल र अस्थिरतामा लैजाने चेतावनी वक्तव्यमा दिइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ । अब प्रगतिशील र लोकतान्त्रिक दिशामा जनतालाई गोलबन्द गर्दै अघि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको छ ।’

नेताहरूले राष्ट्रिय संकटको यस घडीमा सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील र देशभक्त शक्तिहरूलाई बृहत् मोर्चा निर्माणका लागि सहकार्य र एकताको पहल गर्न आह्वान गरेका छन् ।

प्रकाशित: २१ कार्तिक २०८२ १८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App