नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफू प्रधानमन्त्री बन्ने चाहना राखेको स्पष्ट रूपमा व्यक्त गरेका छन्। जेनजीसँगको अन्तरक्रियामा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाका कारण देशमा चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमै आमनागरिकमा गहिरो शंका रहेको बताए।
उनका अनुसार सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको चुनावी प्रक्रिया प्रति जनविश्वास कमजोर छ। ‘१६ सय थान प्रहरीका हतियार लुटिएको घटनाको अझै समाधान भएको छैन, प्रहरीको मनोबल पनि चुनाव गर्न सक्ने अवस्थामा छैन,’ भन्दै उनले यथास्थितिमा निष्पक्ष र सुरक्षित चुनाव सम्भव नदेखिएको तर्क गरे।
विप्लवले यस्तो परिस्थितिमा अन्तरिम सर्वपक्षीय सरकार गठन गर्नुपर्ने आवश्यकता औँल्याए। उक्त सरकारले जेनजीका माग सम्बोधन गर्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने उनको भनाइ थियो। साथै, सम्भव भए प्रत्यक्ष राष्ट्रपति निर्वाचन वा सबै जनताको प्रत्यक्ष मतबाट प्रधानमन्त्री चयन गर्ने व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारे, जसलाई जेनजीको समेत प्रमुख मागका रूपमा उनले उल्लेख गरे।
आगामी निर्वाचनमा नेकपा माओवादी पनि प्रतिस्पर्धामा उत्रिने स्पष्ट पार्दै विप्लवले देशलाई राम्रो बनाउने सपना र राजनीतिक इच्छाशक्ति आफूहरूसँग रहेको दाबी गरे।
आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै उनले भने, ‘हामीले बन्दुक पनि बोक्यौँ, जेल पनि गयौँ, किताब पनि पढ्यौँ। अहिले नयाँ उद्योग–धन्दा चलाइरहेका छौँ, श्रम गरिरहेका छौँ।’ यदि किसान, मजदुर, बुद्धिजीवी, व्यापारी, मध्यम वर्गदेखि शहर र गाउँका जनताले अवसर दिए भने एकपटक प्रधानमन्त्री वा कार्यकारी प्रमुख भएर देशको सेवा गर्ने दृढ चाहना रहेको उनले बताए।
‘तपाईंहरूले एकचोटि गरेर देखाऊ भन्नुभयो भने गोरु जस्तै जोतेर देशको सेवा गर्ने प्रतिबद्धता नेकपा माओवादीसँग छ,’ भन्दै उनले राजनीतिक नेतृत्वका लागि आफ्नो आकांक्षा स्पष्ट पारे।
प्रकाशित: ५ पुस २०८२ १८:२४ शनिबार





