नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको भन्ने कल्पनै गर्न नसकिने बताएका छन्।
बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा एक घण्टा लामो प्रशिक्षणका क्रममा यस्तो बताएका हुन्।
राष्ट्रपति बनाउने समयमै उमेर र क्रियाशीलका हिसाबले विद्यादेवी भण्डारी उपयुक्त नहुने आफूले कुरा राखेको पनि महासचिव पोखरेलले बताए। विद्या भण्डारीको निवासमै गएर आफूले तपाईँले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको महासचिव पोखरेलले बताए।
उनले भने,'विरोधका बाबजुद पार्टीले निर्णय गर्यो र दुई कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गर्नुभएपछि अब उहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन । तर उहाँमा त्यो धैर्यता देखिएन । पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार उहाँ (विद्या) सम्मानित भएर बस्नुपर्छ भन्ने छ । पार्टीको दृष्टिकोण त्यही हो उहाँले पार्टीको नीति र निर्णयलाई मनन गर्नुहुनेछ । पार्टी पद्धतिको पालना गर्नुहुनेछ।'
पार्टी नेतृत्वमा दुई कार्यकालको विषय पार्टीको प्रतिष्ठालाई कमजोर बनाउने गरी अनावश्यक, भ्रमपूर्ण र तथ्यहीन भएको उनले बताए। त्यस्तै ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूल्यमान्यता विशेषता विपरीत नभएको उनले बताए। कस्तो पार्टी हुने भन्ने मदन भण्डारीको विचारलाई स्मरण गर्दै नेतृत्व रहस्यमय र अलौकिक पात्र जस्तो हुन नहुने जनताबाट अनुमोदित हुनुपर्ने बताए।
प्रकाशित: १४ श्रावण २०८२ १२:१८ बुधबार





