विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकले उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलबीचको 'बृहत्तर ध्रुबीकरण/ एकीकरण प्रस्ताव'लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णयलाई पारित गरेको हो ।
'वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भईरहेको बेला नवयुवाको आन्दोलन 'जेन-जी विद्रोह'ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकीकरणलाई तिब्रत्तर बनाईदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, सवृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ', संयोजक परियारको टिप्पणी छ।
पार्टी एकीकरणका अन्य प्राविधिक विषय दुवै दलका नेतृत्वको उच्च समझदारीका आधारमा टुंग्याइने विवेकशील साझाले जनाएको छ । दुई पार्टीबीचको एकता सभा आगामी आईतबार राष्ट्रिय सभागृहमा हुने छ ।
वैकल्पिक राजनीतिका प्रणेता पार्टीका संस्थापक स्व.उज्वल थापाको योगदान र 'विवेकशील आन्दोलन'लाई लिपीवद्ध गर्ने तथा प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदालाई केन्द्रमा राखेर दुई दलबी एकीकरण भएको विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले बताएका छन् ।
प्रकाशित: १० मंसिर २०८२ १९:०५ बुधबार





