पार्टी कमिटीहरूमा ६० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने माग राख्दै नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा तीन दिनदेखि एक युवक अनसनमा छन् ।
केन्द्रीय कार्य संयोजनदेखि सेल कमिटीसम्म ४० वर्षमुनिका युवालाई ६० प्रतिशत प्रतिनिधित्व दिनुपर्ने मागसहित भुवन सिंह विष्ट अनसनमा बसेका हुन्।
पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले मौखिक आश्वासनलाई व्यवहारमा उतार्न माग गरेका छन् । विष्टले भने, ‘मुखले युवा ल्याउनुपर्छ भन्ने, तर व्यवहारमा त्यसअनुसार काम नभएपछि मैले पार्टीको ध्यानाकर्षण गराएको हुँ।’
उनले पार्टीको विशेष महाधिवेशनको मिति सार्वजनिक गरी तीन महिनाभित्र महाधिवेशनसम्बन्धी कार्यक्रम सम्पन्न गर्नुपर्ने माग पनि अघि सारेका छन्।
त्यस्तै, केन्द्रीय पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्ने, प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्षमुनिका युवालाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रूपमा स्वीकार गर्नुपर्ने मागसमेत राखेका छन्।
साथै, पार्टीका सबै पदाधिकारीहरूको सम्पत्ति विवरण तत्काल सार्वजनिक गर्नुपर्ने उनको माग छ।
प्रकाशित: ६ वैशाख २०८३ १३:४९ आइतबार





