नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले नेताहरूले जनतालाई आशा देखाउने तर सत्तामा पुगेपछि बिर्सने गरेको बताएका छन्।
मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान राजनीतिक नेतृत्व र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
‘एउटा ठूलो उद्योगपति साँझ घर आउँदा गेटमा भिकारी देख्छ र भित्रबाट केही ल्याइदिन्छु भन्छ,’ भण्डारीले कथा सुनाए, ‘तर भित्र गएर परिवारसँग भुल्छ। भोलिपल्ट बिहान हेर्दा भिकारी मरिसकेको हुन्छ। किन मर्यो भन्दा ऊ अभाव, परिस्थिति र समयसँग त अभ्यस्त थियो, तर मालिकले आशा देखायो र त्यो पूरा नहुँदा ऊ सहन नसकेर मर्यो।’
यो कथालाई वर्तमान राजनीतिक अवस्थासँग जोड्दै उनले भने, ‘हाम्रा नेताहरु सत्तामा गएर जनतालाई आशा देखाए, तर सत्तामा गएपछि आफ्नो मान्छे, आफ्नो परिवारसित भुले, देश भुले, मुलुक भुले, जनता भुले, देशको भू-बनोट भुले। अहिलेको अवस्था त्यही हो।’
भण्डारीले देश र जनताका सामान्य काम समेत गर्न नसक्ने तर सत्ताका लागि दौडधुप गर्ने प्रवृत्तिप्रति आक्रोश पोखे। उनले भने, ‘यी हुति नभएका सत्तामा जान दौडिरहने, पद खोजिरहने, रवाफ देखाइरहने, जनताले भनेका सामान्य काम किन नगरेको ?’
उनले आफ्नो पुस्ताले मुलुक बनाउन जीवन दिएको र जेलनेल भोगेको स्मरण गर्दै अहिलेका नेताहरूले सही मान्छे, सही समय र सही ठाउँमा जिम्मेवारी दिन नसकेको आरोप लगाए।
भण्डारीले वर्तमान कांग्रेस-एमाले गठबन्धनप्रति पनि सैद्धान्तिक असहमति प्रकट गरे। ‘सैद्धान्तिक रूपले ठूलो दल र दोस्रो दल गठबन्धन गरेर सरकारमा जानु हुँदैनथ्यो। संसदीय व्यवस्थामा प्रतिपक्ष दल पनि सरकार बराबर हो, त्यहीँनेर गल्ती भएको हो,’ उनले भने।
उनले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आफूले उठाएका कुराहरूलाई पनि पुनः स्मरण गरे। ‘आदरणीय नेताज्यूहरुले हँसिया बनाउनुभयो, आफ्ना गुटगुटलाई हँसिया बनाउन दिनु पनि भयो, तर त्यो हँसियाले घाँस काट्न सकेन। त्यसले गर्दा भैंसी, गाईहरु भोकै रहे, ती भैंसी-गाईहरु कराए,’ उनले पार्टीभित्रको गुटबन्दीले जनताका काम हुन नसकेकोतर्फ संकेत गरे।
उनले सरकारले चाहेमा काम गर्न सक्ने उदाहरण दिँदै भने, ‘रसुवामा हामीले हेलिकप्टरबाट तुरुन्त रेस्क्यु गर्यौँ, मान्छे कति खुसी भए। तर नख्खुमा बाढी आउँदा ५-६ घण्टासम्म जनताले गुहार माग्दा पनि उद्धार गर्न सकेनौँ। त्यसैले गर्न सकिँदो रहेछ नि।’
उनले वर्तमान सरकार अपारदर्शी रहेको र सुशासन दिन नसकेको आरोप लगाउँदै गठबन्धनका दुई प्रमुख मुद्दा - संविधान संशोधन र सुशासन - एक वर्ष बित्दा पनि अघि नबढेको बताए।
उनले अहिलेको संसदको अवस्थालाई व्यङ्ग्य गर्दै भने, ‘दुई ठूला दल शासन सत्ता चलाउने, प्रमुख प्रतिपक्षको रोल के हो अन्योलपूर्ण अवस्था। तेस्रो, चौथो र पाँचौँ दल आन्दोलनमा छौँ भनेर आफ्ना कुरा राखेर निस्कन्छन्। अन्त्यमा एक्ला प्रेम सुवाल र स्वतन्त्र माननीय अमरेशकुमार सिंहहरुले प्रतिपक्षको भूमिका निर्वाह गर्दैछन्।’
प्रकाशित: ३१ असार २०८२ १७:१४ मंगलबार

