२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

भृकुटीमण्डपको गाइँगुइँ: शंकरलाई संकट, प्रदीप–महेश धेरैको रोजाइ

काठमाडौं अहिले ‘एमालेमय’ छ। त्यसको ‘इपिसेन्टर’ भृकुटीमण्डप–प्रदर्शनी मार्ग क्षेत्र छ। नेकपा एमालेको ११ औँ महाधिवेशन त्यहीँ जो चलिरहेको छ। 

चार दिन अघि भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन त्यसयता काठमाडौं सरेको हो। भृकुटीमण्डपमै बन्द सत्रदेखि उम्मेदवारी दर्तासम्मका काम सोमबारसम्म सकिएका छन्। 

एमालेको आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित नै प्रतिस्पर्धामा ओर्लिएका छन्। जसले एमालेभित्र पछिल्लो दशकमा ओलीविरुद्ध कोही पात्र ‘जब्बर’ भएर चुनौती दिँदै छ। 

पछिल्लो दशक ‘ओली नै एमाले, एमाले नै ओली’ जस्तो देखिएको थियो। विशेष गरी २०७२ मा संविधान निर्माण र भारतले लगाएको नाकाबन्दीपछि एमालेले जनतामाझ ओलीलाई ‘राष्ट्रवादी नेता’का रूपमा स्थापित गर्न सफल बनेको थियो। 

त्यसअघि २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा ओलीले माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गरेर अध्यक्षमा चुनिएका थिए। तर त्यति बेलासम्म ओलीको दबदबा एमालेमा बनिसकेको थिएन। 

०७२ मा संविधान निर्माणपछि विकसित घटनाक्रम र त्यही बेला पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै ओलीले केही महत्त्वाकाङ्क्षी विकास योजनाबारे वकालत गरेका थिए। जसमा कतिपय दूरगामी महत्वका योजना छन् भने कतिपय ‘हावादारी’ थिए। 

जेसुकै भए पनि ओली त्यो बेला जनतामा समकालीन नेतामध्ये तुलनात्मक रूपमा ‘पपुलर’ बनेकै थिए। सोही कारण एमालेभित्र उनको वर्चस्व झन् बलियो बन्यो।

त्यसपछि २०७४ को वाम गठबन्धन, एमाले–माओवादी एकीकरण पार्टी विवाद र विभाजनसम्म आइपुग्दा एमालेमा ओली झनै शक्तिशाली भए। माधवकुमार नेपाल,झलनाथ खनालहरूले पार्टी विभाजन गरिसकेपछि एमालेभित्र बाँकी रहेको इतर खेमाले ओलीलाई चुनौती दिने अवस्था निकै कमजोर बनेको थियो। 

त्यसपछि २०७८ मा सम्पन्न भएको एमालेको १० औँ महाधिवेशनमा ओली झन्डै एकछत्र नेता बनेका थिए। यद्यपि उनलाई भीम रावलले चुनौती दिएका थिए। चितवनमा सम्पन्न उक्त महाधिवेशनमा रावल निकै फराकिलो मतान्तरले पराजित हुँदा ओलीले पार्टीभित्र एकलौटी दबदबा बनाएका थिए। ओलीलाई त्यति बेला चुनौती दिने रावल निकालिए, घनश्याम भुसालले पार्टी छाडेर हिँड्नुप¥यो। उनीहरूको हैसियत पार्टी फुटाउन सक्ने समेत थिएन। 

तर, ओलीलाई चुनौती दिने यस पटकका ईश्वर पोखरेल र त्यो बेलाका भीम रावलको तुलना गर्न सकिने अवस्था भने देखिएको छैन। भलै ‘ओलीलाई टक्कर दिँदा एमाले छाड्ने पालो माधव, भीमपछि ईश्वरको’ भन्नेहरू पनि छन्। 

अहिले ओलीलाई चुनौती दिने पोखरेल ओलीकै पुराना सहयात्री हुन्। सँगै पोखरेलसँग पूर्व राष्ट्रपति विद्या भण्डारीको पनि साथ छ। भण्डारी ओलीलाई विगत लामो समयदेखि साथ दिँदै आएकी हुन्। पछिल्लो समय पार्टी राजनीतिमा फर्किएर एमालेको नेतृत्व लिन चाहन्थिन्, जसको बाधक ओली नै बने। उनी त्यसको बदला लिने मुडमा पोखरेललाई सघाइरहेकी छन्। पोखरेलले आफू जिते भण्डारीको सदस्यता नवीकरण गर्ने घोषणा गरेका छन्। 

यस्तै विगतमा माधव नेपालसँग रहेर पार्टी विभाजनका बेला एमालेमै बसेका ‘१० भाइ’ समूहका नेताहरूको शक्ति पनि अहिले पोखरेलसँग छ। १० औँ महाधिवेशनमा ओलीलाई टक्कर दिने भीम रावलले प्यानल बनाउन सक्ने तागत नै राखेनन्। तर, अहिले पोखरेलले लगभग सबै पदमा समानान्तर उम्मेदवार खडा गरेका छन्। 

ओलीलाई सबैभन्दा ठुलो तनाव उनकै गुटले उनको सबै निर्णय नमान्ने स्थिति देखिएको छ। विगतमा ‘जे ओलीले बोल्यो, त्यही एमाले कानुन’ जस्तो अवस्था थियो। नभए कारबाहीको डन्डाको डर हुन्थ्यो। 

पार्टी पङ्तिमा रहेको सोही डरका कारण चितवन महाधिवेशनमा ओलीले जे सूची फाइनल गरे, त्यही पालन भयो। उनले ‘मत हाल्नुपर्ने र नहाल्नुपर्ने’ सूची नै बनाएर बाँडे। प्रतिनिधिले उनले बाँडेकै सूचीमा भोट लिपेर पठाए। 

तर, अहिले उनले बनाएको सूचीमा उनकै गुटका नेताले अवज्ञा गरेका छन्। कतिपयले स्वतन्त्र उम्मेदवारी नै दिएका छन्, कतिपय उनको गुट छाडेर ईश्वर पोखरेलकै गुटतिर समाहित भएका छन्। 

पार्टीभित्र यस्तो अवस्था आउनुमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको पनि भूमिका देखिन्छ। ओलीप्रति जनस्तरमा पनि पहिला जस्तो आकर्षण रहेन। जेनजी आन्दोलनपछि त्यसको मात्रा अझै बढेको छ। एमालेभित्र ओलीकै विकल्प खोज्ने र पुस्तान्तरणको मुद्दा उठाउनेको आयतन बढ्दै गएको छ। 

महाधिवेशन स्थलका गसीप

भृकुटीमण्डप र प्रदर्शनी मार्गमा दिउँसो हामी पुग्दा मतदानको तयारीका काम चलिरहेका थिए। आक्कलझुक्कल उम्मेदवारहरू देखिए पनि प्रतिनिधिदेखि, आम नेताकार्यकर्ताहरूको भिड थियो। उम्मेदवारका समर्थकले विभिन्न शैलीमा प्रचारप्रसार गरिरहेका थिए। 

भृकुटीमण्डपभित्र ठुलो भिड आ–आफ्नै झुन्डमा बसेर, गफिएर, चिया पिउँदै, मुमफली खाँदै बसिरहेको थियो। चुनाव नै हुने भएपछि अनौपचारिक रूपमा गसिपमा सम्भावित नतिजा र जित हारको पूर्वानुमान चल्ने नै भयो। 

त्यस्ता गसिपमा चर्चाको केन्द्रमा ‘महासचिव ब्याटल’ र महेश बस्नेत सुनियो। धेरैले अध्यक्षमा ओली ‘जितिहाल्ने’ ढुक्कैले भनिरहेका थिए। यद्यपि पोखरेलले ‘राम्रै मत’ पाउने भनिरहेका थिए। 

तर, महासचिवमा भने ‘ठुलै प्रतिस्पर्धा’ हुने धेरैको अनुमान सुनियो। महासचिवमा ओली प्यानलबाट शंकर पोखरेल उम्मेदवार छन् भने, पोखरेलको प्यानलबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन्। 

त्यो प्रतिस्पर्धा देख्नेहरूको आ–आफ्नै तर्क सुनियो। जसमा धेरैले उनलाई ‘ओली पक्षकै नेताहरू हराउन लाग्ने’ अनुमान थियो। ओली गुटभित्र शंकर पोखरेल र विष्णु पौडेलबिच आन्तरिक प्रतिस्पर्धा छ। ‘भविष्यमा अध्यक्ष को हुने भनेर दुवैको प्रतिस्पर्धा छ। यही बेला शंकर कमरेड महासचिवमा हार्नुभयो भने उहाँ कमजोर हुने निश्चित छ। यो मौका उहाँहरूले छोप्नुभएकै होला,’ एक प्रतिनिधिले सुनाए। 

त्यसबाहेक धेरैले प्रदीप ज्ञवालीको विद्रोहलाई पनि चुनौतीका रूपमा अर्थ्याइरहेका छन्। सोही कारण उनीप्रति सहानुभूति दर्साउनेहरूको मात्रा ठुलै देखियो। कतिपयले उनलाई महाधिवेशनमा सर्वाधिक मत ल्याउन सक्ने उम्मेदवारका रूपमा पनि बुझेका छन्। महासचिवमा दाबी गरेका ज्ञवाली ओलीले शंकरलाई रोजेपछि खुला केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन्। भृकुटीमण्डपका गसिपमा ज्ञवालीका आँसुले पनि शंकरलाई असर गर्न सक्ने अनुमान भइरहेका सुनिन्थे। 

यसबाहेक ओलीको अहिल्यै विकल्पमा पनि जान नसक्ने, तर सबै कुरा स्वीकार्य नहुने भन्नेहरूको निसानामा पनि शंकर पोखरेल नै देखिए। ओलीको दम्भ, उनका राम्रा–नराम्रा काममा पोखरेलकै बढी हात रहेकाले कम्तीमा उनलाई हराए ओली संयमित हुन सक्छन् भन्ने धेरैको आवाज सुनिन्थ्यो। 

ओली पक्षकै कतिपय प्रतिनिधिमा अर्को पक्ष पूर्ण रूपमै पराजित भए ‘पार्टी फुट्छ’ भन्ने चिन्ता पनि महाधिवेशन स्थलमा सुनियो। त्यसो धारणा राख्नेहरूले महासचिव पद नै विकल्पमा राखेका छन्।

‘यस पटक चितवन जस्तो हुँदैन। मतदाताले विवेक प्रयोग गर्ने देखिन्छ,’ महाधिवेशनमा भेटिएका एक नेताले भने। ओलीको टिमभन्दा बाहिरका योगेश भट्टराई र गोकर्ण विष्ट पनि प्रतिस्पर्धामै देखिन्छन्। 

‘महेश बस्नेत बलिया’

महाधिवेशन स्थलमा यस पटक बढी चर्चाका एक पात्र महेश बस्नेत पनि परेका छन्। जेनजी आन्दोलनपछिको अवस्थामा सबैभन्दा खरो बोलिरहेका बस्नेतले भक्तपुरको गुन्डुमा ओलीका लागि डेरा खोजेर सेनाको ब्यारेकबाट उतारेका थिए। सँगै ओलीको सुरक्षाको पनि व्यवस्था गरे। 

यस्तै देशभरका एमालेका नेता कार्यकर्तामा ऊर्जा बढाउने काम गरेको पनि महाधिवेशनमा चर्चा भइरहेको छ। यद्यपि एमाले इतर समाजले उनले द्वन्द्व भड्काउने काम गरिरहेको आरोप पनि लगाउने गरेको छ। तर, एमाले जन भने उनलाई ‘संकट पर्दा महेश बस्नेतले बचायो’ नै भनिरहेका सुनिन्छन्। 

अहिले रातिदेखि नै नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने तयारी छ। नतिजा बुधबार मात्रै आउने छ। महाधिवेशन स्थलमा भइरहेका आम गसिपका यी विषयले नतिजालाई कत्तिको प्रभाव पार्नेछ, त्यो भने हेर्नलायक हुनेछ। 

प्रकाशित: १ पुस २०८२ १९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App