नेकपा एमालेले पार्टीबाट निष्कासित गरेपछि भीम रावलले नयाँ पार्टी खोल्ने उद्घोष गर्दै केही गतिविधि गरेका थिए। राष्ट्रवादी पार्टी खोल्ने प्रयास गरेका रावलले त्यसमा राजावादी शक्तिसँग पनि केही कसरत गरेका थिए। उनको त्यो प्रयासलाई उनी ‘राजावादी’ हुन लागेकोसमेत टिप्पणी भइरहेको थियो।
तर, रावलले जनस्तरबाट अपेक्षा गरेअनुरूप सहयोग पाएनन्। कुनै सुदूरपश्चिम एमालेमा एकछत्र उनको पकड थियो। तर, उनलाई पार्टीबाट निष्कासित गर्दा पनि गृह प्रदेशका एमाले नेता कार्यकर्ताबाट कुनै सहयोग मिलेन। हुँदा हुँदा गृह जिल्ला अछाममा समेत उनले सोचेजस्तो अवस्था देखेनन्। त्यसपछि उनको दल खोल्ने निर्णय तत्कालका लागि सामसुम बनेको देखिएको छ।
यसरी दलविहीन रहेका रावल स्वाभाविक रूपमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति बढी आक्रामक सुनिन्छन्। सामाजिक सञ्जालमा समेत उनको व्यंग्यबाणले ओलीलाई निसाना बनाइरहेको हुन्छ।
यस्तोमा पछिल्लो समय रावलको निसाना ओलीसँगै एमाले महासचिव शंकर पोखरेलतिर पनि सोझिन थालेको छ। सोझिन मात्रै होइन, पछिल्लो समय अझ झन् बढी नै रावलको निसानामा पोखरेल पर्न थालेका छन्।
शनिवार बिहान मात्रै ‘एक्स’मा रावलको एक ट्विट आएको छ। जसले प्रस्ट पोखरेललाई नै निसाना बनाएको छ। पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा भनेर शनिबार बिहान मात्रै अभिव्यक्ति दिएका थिए।
त्यसैको खण्डनमा रावलले शनिवार लेखेका छन्, ‘पूर्व राष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा, तर गणतन्त्र र संवैधानिक प्रणालीको विरुद्धमा सक्रिय नेतासँग चुनाव र सरकारमा गठबन्धन गर्नु गणतन्त्र बलियो बनाउने काम रे ! साथै कांग्रेस सभापति देउवाका गल्ती निजका नभई वर्तमान व्यवस्थाका हुन रे !’ त्यसपछि रावलले ‘झोले’ नेताको भनाई भनेर पोखरेललाई निसाना बनाएका छन्।
उनले यसअघि पनि पछिल्ला अभिव्यक्तिमा पोखरेललाई निसाना बनाउँदै आएका छन्।
प्रकाशित: ७ भाद्र २०८२ १३:२२ शनिबार





