नेपालगन्जको भेरी अस्पतालको नयाँ भवनको भुइँतलामा अर्थोपेडिक वार्ड सञ्चालनमा छ। उक्त वार्डमा थुप्रै बिरामी उपचारका लागि भर्ना छन्। यही वार्डको छेउमै रहेको ‘१ नम्बर क्याबिन’ को गतिविधि भने अर्कै देखिन्छ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके–२ मा कसलाई जिताउने र कसलाई हराउने भनेर केही दिनदेखि यही क्याबिनभित्र रणनीतिक योजना बनिरहेको छ।
भेरी अस्पतालको रेकर्डअनुसार उक्त क्याबिनमा एक हप्ताभन्दा बढी समयदेखि चर्चित कर्णाली विकास बैंकको अर्बौ रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपति दयाल मिश्र डेरा जमाएर बसेका छन्। उनी एमाले नेता हुन्।
मिश्रकै निर्देशनबाट बाँके–२ मा चुनावी रणनीति बनिरहेको छ। बैंकको रकम अपचलन मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मिश्रलाई गत साउन तेस्रो सातातिर पुर्पक्षका लागि नेपालगन्ज कारागार चलान गरेको थियो। तर, कारागार चलान भएयता उनी विभिन्न स्वास्थ्य समस्या देखाएर नियमित जसो यहाँका अस्पतालमा बस्दै आएका छन्।
पछिल्लो समय माघ १४ गते ‘ढाड दुख्ने’ समस्या बल्झिएको भन्दै मिश्र भेरी अस्पतालको अर्थोपेडिक विभाग अन्तर्गतमा भर्ना भएका छन्। अस्पतालले उनलाई १ नम्बर क्याबिनमा राखेको छ।
सामान्यतयाः कुनै बिरामीलाई चिकित्सकले भर्ना गरेको केहीदिनभित्र उसको स्वास्थ्य अवस्थाअनुसार औषधी चलाउने वा शल्यक्रिया गर्ने निधो गरिन्छ। सामान्य भएपछि बिरामीलाई डिस्चार्ज गरिन्छ। तर, अस्पतालका अनुसार मिश्रको अवस्था अस्पतालमै राखिराख्नुपर्ने खालको छैन।
मिश्रले सरकारी अस्पतालको क्याबिनमा आरामदायी समय बिताउनकै लागि मात्रै बसेका छैनन्। एमालेकै नेताकार्यकर्ताहरूका अनुसार चुनावमा पार्टीका उम्मेदवारलाई जिताउने र प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हराउने भन्ने रणनीति बनाउन प्रयोग गरेका छन्।
अभियुक्त मिश्र बुधबार पनि अन्य दिन जसरी नै पार्टीका नेता तथा कार्यकर्तासँग क्याबिनमै बैठक राखेर छलफलमा व्यस्त थिए। नागरिक संवाददाता बुधबार अपरान्ह रिपोर्टिङ गर्न अस्पतालमा पुग्दा अभियुक्त मिश्र सोही क्याबिनभित्र चुनावी छलफलमा व्यस्त देखिन्थे।
मिश्र र उनका कार्यकर्ताहरू बोलिरहेको कुरा बाहिरैसम्म प्रष्ट सुनिन्थ्यो। कसैलाई मिश्र भन्दैथिए, ‘क्षेत्र नम्बर-२ मा हाम्रो उम्मेदवारलाई जिताउन सबै परिचालित भएर लागौँ, वडाहरुमा टिम राम्ररी परिचालित हुनुपर्यो।’
नेपालगन्ज कारागार प्रशासनले मिश्रको साथमा सादा पोसाकका एक जना सुरक्षाकर्मीबाहेक अन्य कुनैपनि कुरामा प्रतिबन्ध लगाएको छैन। ‘अस्पतालको क्याबिनबाटै मोबाइल फोन प्रयोग गरेर उहाँले नेता तथा कार्यकर्ता बोलाउनुहुन्छ,’ एक स्वास्थ्यकर्मीले भने, ‘बिहानैदेखि रातिसम्म चुनावी कुराकानी हुन्छन्। उपचार त बहाना मात्रै हो।’
चुनावको मुखमा पुर्पक्षमा थुनाको बास बसिरहेका अभियुक्तलाई राजनीतिक शक्तिको आडमा प्रहरी, प्रशासनदेखि अस्पतालले समेत यसरी सुविधा दिएकामा अहिले प्रश्न उठिरहेको छ।
मिश्रका बारेमा अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मी खुलेर बोल्नसमेत चाहँदैनन्। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी मिश्रको स्वास्थ्यमा समस्या देखिएकाले नै क्याबिनमा भर्ना गरिएको दाबी गर्छन्।
‘उहाँ उपचारका लागि आउनुभएको हो भन्ने मलाई जानकारी मात्रै छ,’ उनले भने,‘क्याबिनमा बसेर के के गर्दै हुनुहुन्छ, त्यो कुरा मलाई थाहा भएन।’
नेपालगन्ज कारागार कार्यालयका प्रमुख (जेलर) प्रकाश ढुंगानाले मिश्रको शंकास्पद गतिविधि आफुले चेतावनी दिइसकेको बताए। ‘चुनावको मुखमा अस्पतालमा भर्ना हुनुभएको छ, तर तपाईको गतिविधि अर्कै सुनिन्छ, यसमा विचार पुर्याउनुहोस् है भनेर मैले चेतावनी दिइसकेको छु,’ उनले भने, ‘उहाँले अस्पतालमा बसेर राजनीतिक गतिविधि गर्नुभएको रहेछ भने कारागार प्रशासनले कारबाही गर्नेछ।’
थुनामा रहेको अभियुक्तले उपचारको निहुँमा पटक-पटक अस्पतालमा सुविधा लिएर राजनीतिक गतिविधि गर्नु कानुनी राज्यको उपहास भएको नेपाल बार एसोसियसनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ बताउँछन्।
मिश्र अदालतबाट आदेश भएर पुर्पक्षका लागि कारागार चलान भएयता करिब १०/१२ पटक यसरी नै भेरी अस्पतालमा आएर बसिसकेका छन्। हरेक पटक जसो उनी महिनौँसम्म क्याबिन नै लिएर बस्छन्।
मिश्र लामो समयसम्म कर्णाली विकास बैंकको अध्यक्ष भएका थिए। बैंकको अध्यक्ष भएयता उनले विभिन्न उद्योग, कलकारखाना तथा होटल व्यवसायमा लगानी गरेका थिए।
२०७४ सालको निर्वाचनमा बाँके–२ मा एमालेले उनलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको थियो। त्यतिबेला तत्कालीन संघीय समाजवादी पार्टी फोरमका नेता रहेका मोहम्मद इस्तियाक राईसँग पराजित भएका थिए।
त्यसपछि २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाटै नेपालगन्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका उनी कांग्रेसका प्रशान्त विष्टसँग पराजित भएका थिए।
प्रकाशित: २२ माघ २०८२ १५:५६ बिहीबार





