नेपाली कांग्रेसको ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टको उम्मेदवारीको वैधानिकतामाथि प्रश्न उठाउँदै शपथग्रहण कार्यक्रम स्थगित गर्न माग गरिएको छ।
सोही क्लस्टरबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका सौगात थापाले बिहीबार पार्टी सभापतिसमक्ष निवेदन दिँदै उमेरसम्बन्धी विवादको निरूपण नभएसम्म सम्बन्धित निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण स्थगित गर्न माग गरेका हुन्।
थापाले नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को परिच्छेद ७ अन्तर्गत धारा २१ को उपधारा १० मा ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्न उमेरसम्बन्धी योग्यता अनिवार्य गरिएको उल्लेख गरेका छन्।
उनका अनुसार सुशील भट्टको जन्ममिति २०४८ असोज १३ गते रहेको र उम्मेदवारी मनोनयन दर्ताको मिति २०८३ असोज २० गते भएकाले मनोनयन दर्ता गर्दाकै समयमा ३५ वर्ष पूरा भइसकेको देखिन्छ। यही विषयमा आफूले प्रमाणसहित केन्द्रीय निर्वाचन समितिसमक्ष निवेदन दिएको थापाको भनाइ छ।
थापाले कात्तिक १ गते केन्द्रीय निर्वाचन समितिसमक्ष इमेलमार्फत औपचारिक निवेदन पेस गर्दै निष्पक्ष छानबिन र विधानसम्मत निर्णयको माग गरेका थिए। उक्त निवेदनको बोधार्थ पार्टी सभापतिलाई समेत दिएको उनले बताएका छन्।
निर्वाचनको मतपरिणामअनुसार आफू आठौँ स्थानमा रहेको उल्लेख गर्दै थापाले सोही क्लस्टरबाट निर्वाचित अन्य सदस्यहरूको उमेरसम्बन्धी योग्यतासमेत आधिकारिक कागजातका आधारमा परीक्षण गर्न माग गरेका छन्।
उमेरसम्बन्धी योग्यता र उम्मेदवारीको वैधानिकतामाथि प्रश्न उठिसकेको अवस्थामा छानबिन तथा निर्णय नगरी शपथग्रहण प्रक्रिया अघि बढाउनु न्यायोचित नहुने थापाको जिकिर छ। निर्वाचन सम्पन्न हुनु वा उम्मेदवार निर्वाचित हुनुले उम्मेदवारीको वैधानिकतामाथि उठेका प्रश्न स्वतः समाप्त नहुने उनको भनाइ छ।
थापाले उमेरसम्बन्धी विवादमा निष्पक्ष छानबिन गरी विधानअनुसार निर्णय गर्न, योग्यता नपुगेको प्रमाणित भए सम्बन्धित उम्मेदवारी तथा निर्वाचन परिणामको वैधानिकताबारे आवश्यक निर्णय लिन र छानबिनको निष्कर्ष लिखित रूपमा उपलब्ध गराउन माग गरेका छन्।
निवेदन पत्र:



प्रकाशित: १२ कार्तिक २०८३ ११:३० बिहीबार





-600x400.jpg)