नेकपा एमालेका नेता विष्णु रिजालले गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिलाई राष्ट्रको छातीमा खिल बनेर बसेको दिनका रूपमा स्मरण गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत रिजालले सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी युवाहरूले आयोजना गरेको सामान्य प्रदर्शन हिंसात्मक बनेको र केही मिनेटको अन्तरमा १९ जना युवाले ज्यान गुमाएको बताएका छन्।
सो पश्चात् प्रदर्शनकारीले संयम गुमाएको र सरकारले विवेक गुमायो पनि उल्लेख गरे।
'आज भदौ २३– राष्ट्रको छातीमा खिल बनेर बसेको दिन। सामाजिक सञ्जाल बन्दका विरुद्ध जेनजी युवाहरूले आयोजना गरेको सामान्य प्रदर्शनलाई यसरी हिंसात्मक बनाइयो– केही मिनेटको अन्तरमा १९ जना नानीबाबुहरूले अनाहकमा ज्यान गुमाए,' उनले भने, 'प्रदर्शनकारीले संयम गुमाए, सरकारले विवेक गुमायो।'
रिजालले आन्दोलनका क्रममा भएको घटनालाई आधार बनाएर राष्ट्रका धरोहरसमेत जलाइएको उल्लेख गरे। नेता सत्ताच्युत हुँदा सत्ता खाली नहुने भए पनि ज्यान गुमाएका युवाका आमाहरूको काख भने कहिल्यै भरिन नसक्ने उनले बताएका छन्।
रिजालले आन्दोलनमा ज्यान गुमाएका युवाहरूको बलिदानलाई सत्तामा पुग्ने माध्यम बनाउनेहरूले नै ती निर्दोष युवाहरूलाई बिर्सिएको टिप्पणी गरेका छन्।
'तिनलाई भर्याङ बनाएर सत्तामा जानेहरूले नै सायदै ती अवोध युवाहरूलाई सम्झेका छन्,' उनले भनेका छन्।
रिजालले भदौ २३ को घटनामा ज्यान गुमाएका सम्पूर्ण युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रकाशित: २३ भाद्र २०८३ ०७:१३ मंगलबार





