२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई लिङ्देनको सुझाव: ‘गाली गरेर होइन, काम गरेर ठूलो बन्नुहोस्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई प्रतिपक्षलाई गालीगलौज गरेर समय खेर फाल्नुको सट्टा परिणाममुखी काममा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन्।

आइतबार पार्टीको प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सरकारसँग बहुमत हुँदा पनि प्रतिपक्षलाई होच्याउने र गाली गर्ने प्रवृत्ति देखाउनु दुर्भाग्यपूर्ण भएको बताए।

‘१४ महिनादेखि कांग्रेस-एमाले जस्तो ठूलो पार्टी मिलेको सरकारको नेतृत्व गरिरहनुभएको छ। उहाँलाई गणितको कुनै समस्या छैन, सरकार ढल्छ कि भन्ने चिन्ता छैन,’ लिङ्देनले भने, ‘’ ‘यस्तो बेला प्रतिपक्षीहरूलाई गालीगलौज गर्ने वा अरूलाई होच्याएर आफू ठूलो हुने होइन, उहाँले परिणाम दिने हो।’

उनले सरकारको बाँकी कार्यकालमा देशका लागि राम्रा काम गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे। ‘यो १४ महिनामा देशका लागि राम्रो-राम्रो यो-यो काम गरेँ भनेर भन्नुहोस्, त्यो राम्रो हुन्छ,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवाबाट नख्खु कारागार सारिएको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष लिङ्देनले यसलाई अन्यथा लिन नहुने बताए।

उनले लामिछानेले लामो समयदेखि सरुवा माग गरिरहेको र अदालतले समेत अनुमति दिएको अवस्थामा सरकारले ढिलाइ गर्नु नै गलत भएको बताए।

‘नसारुन्जेल किन सारेन भनेर भन्ने, सार्दा चुनाव प्रभावित गर्न सार्यो भन्ने ? यस्ता वाहियात कुरा गर्नुहुन्न,’ उनले भने, ‘पहिले नै ल्याउनुपर्थ्यो, नल्याउनुमा सरकारले गल्ती गर्‍यो। अहिले ल्यायो, राम्रो गर्‍यो।’

लिङ्देनले रुपन्देहीमा हुन लागेको उपनिर्वाचनका लागि राप्रपाले व्यापक तयारी गरिरहेको जानकारी दिए। सञ्चारमाध्यमले प्राथमिकता नदिए पनि पार्टी वडा तहदेखि नै सङ्गठित र उत्साहित भएर लागेको उनको भनाइ थियो।

पार्टीका वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधान आफैँ निर्वाचन क्षेत्रमा खटिएको र छिट्टै उम्मेदवार टुङ्गो लगाउने उनले बताए।

प्रकाशित: १ भाद्र २०८२ १९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App