२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

बारा क्षेत्र नं ४: नयाँको टक्करले पुरानालाई मत जोगाउन धौधौ

यसपटक बारा निर्वाचन क्षेत्र नं ४ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा (एमाले) का किसान श्रेष्ठ, नेपाली कांग्रेसका श्यामबाबु गुप्ता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अजय कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रहबर अन्सारी र लोसपा–जसपा गठबन्धनका सञ्जु साहबिच कडा प्रतिस्पर्धा हुने देखिएको हो। यसका साथै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ पनि प्रतिस्पर्धामा आएपछि ठूला दललाई यसपटकको चुनाव चुनौतीपूर्ण देखिन पुगेको हो।  

यही चुनौतीका कारण एमालेका किसान श्रेष्ठलाई जित निकाल्न धौ–धौ परेको छ। पहिलो संविधानसभादेखि नै एकपटक जितेको उम्मेदवारलाई सोही क्षेत्रबाट दोस्रोपटक उम्मेदवार बनेमा मतदाताले नरुचाएको इतिहास छ। यसले पनि श्रेष्ठलाई जितका लागि चुनौतीपूर्ण बनाएको छ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रेष्ठ तत्कालीन एकीकृत समाजवादी पार्टीबाट गठबन्धनका उम्मेदवार बनेर विजयी भएका थिए। २०७९ सालमा कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको चुनावी गठबन्धनबाट निर्वाचित श्रेष्ठ यसपटक एमालेबाट चुनावी मैदानमा भिडेका छन्। बारा– ४ मा एमालेको संगठन बलियो भए पनि जेनजी आन्दोलनपछि युवाको जनाधार खस्किएको छ।

एमाले उम्मेदवार श्रेष्ठसँगै कांग्रेसका श्यामबाबु गुप्ता, नेकपाका अजय कुशवाह, रास्वपाका रहबर अन्सारी र लोसपा–जसपा गठबन्धनका सञ्जु साह चुनावी प्रतिस्पर्धामा छन्। पूर्व प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ पनि बारा– ४ मा ठुला दलका उम्मेदवारसँगै चुनावी प्रतिस्पर्धामा छन्।

बाराको १६ वटा स्थानीय तहमध्ये जितपुरसिमरा उपमहानगरसहित परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकाका पाँचवटा स्थानीय तह र कलैया उपमहानगरपालिकाका १७ नं वडा गरी ३९ वटा वडा पर्दछन्। पाँचवटा स्थानीय तहमध्ये प्रसौनी र परवानीपुर गाउँपालिकामा एमालेको नेतृत्व छ भने जितपुर सिमरा तत्कालीन माओवादी केन्द्र, विश्रामपुर लोसपा र फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीले नेतृत्व गरेको छ।

यस क्षेत्रमा कांग्रेसको तर्फबाट श्यामबाबु गुप्ता चुनावी मैदानमा छन्। पछिल्लो समय विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेपछि बाराको चारवटै निर्वाचन क्षेत्रमा थापानिकटकाहरू उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन्। थापा समुहले टिकट वितरणमा देउवा समुहका आकांक्षीलाई नसमेटेपछि उनीहरू चुनावी गतिविधिमा कमै देखिने गरेका छन्। अन्य क्षेत्रको तुलनामा क्षेत्र नं ४ मा भने कांग्रेसका देउवा समुहका नेता–कार्यकर्ता श्यामबाबुसँगै चुनाव प्रचार–प्रसारमा सक्रिय रूपले लागेको देखिन्छ।

तत्कालीन पार्टी सभापति देउवा खेमाबाट क्षेत्रीय सभापति बनेका सुनिल गुप्ता र कांग्रेस मधेस प्रदेशका सहमहामन्त्री रहेका जयनारायण यादव गुप्तालाई विजयी बनाउन खटिएको देख्दा कांग्रेसी नेता–कार्यकर्ताको मनोबल बढेको कांग्रेसनेत्री निरुराय माझीले बताएकी छन्। देशले युवा नेतृत्व चाहेकाले यस क्षेत्रका मदतालाले मलाई नै विजयी बनाउने गुप्ताले दाबी गरे।

युवाको भावना समेटेर लैजान आफूले उम्मेदवारी दिएको गुप्ताले बताए। यस क्षेत्रका अन्य पार्टीका मतदाताका साथसाथै कांग्रेसी मतदाताको मप्रतिको झुकाव देख्दा मेरो जित सुनिश्चित रहेको गुप्ताले बताए। अन्य पार्टीबाट उम्मेदवार बनेकाहरू अधिकांश बाहिरबाट आएका र म यसै क्षेत्रमा जन्मिएको र यहाँका जनताको सुखदुःखमा सधैं साथ र सहयोग गरेको उनले बताए।

लोसपाका वरिष्ठ नेता जितेन्द्र सोनल यसै क्षेत्रमा पर्ने निर्वाचन क्षेत्र नं ४(क) बाट प्रदेशसभा सदस्य रहेका छन्। विशेषगरी क्षेत्रको दक्षिणी भागमा सोनलको निकै प्रभाव रहेको र लोसपा–जसपा गठबन्धनबाट सञ्जु साह चुनावी प्रतिस्पर्धामा छन्। मधेस आन्दोलनबाट स्थापित संघीयता बचाउन र मधेसी समुदायको हक अधिकारका लागि आफू चुनावी मैदानमा उत्रिएको साहले बताए। मधेसी समुदाय राज्यसत्ता सञ्चालनमा जनसंख्याका आधारमा सहभागी नभएकाले आफू निर्वाचित भएर गएपछि त्यसका लागि सदनमा लड्ने साहले बताए।

एमाले, कांग्रेस, लोसपापछि संगठनात्मक हिसाबले यस क्षेत्रमा नेकपा बलियो देखिएको छ। पार्टीले सबैभन्दा कान्छा उम्मेदवार अजय कुशवाहलाई यसै क्षेत्रको उम्मेदवार बनाएको छ। देशमा सुशासन र भ्रष्टाचार अन्त्य गर्न आफू उम्मेदवार बनेको उनको दाबी छ। मुलुकमा संघीयता र गणतन्त्रको नेतृत्व गरेका पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले उम्मेदवार बनाएर आफूलाई गुन लगाएको र त्यो गुन चुनाव जितेर तिर्ने उनको दाबी छ।

रास्वपाबाट रहबर अन्सारी चनावी मैदानमा उत्रिएका छन्। नेकपा माओवादीबाट २०७९ सालको प्रदेशसभा सदस्यमा पर्सा क्षेत्र नं १(क) बाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भएका रहबर माओवादी केन्द्र परित्याग गरी रास्पामा प्रवेश गरी प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका हुन्। अन्सारी मनोनयन दर्ताको केही दिनअघि मात्रै रास्वपा प्रवेश गरेका हुन्। रास्वपाबाट यहाँ उम्मेदवारी दिएका अन्सारी वीरगञ्जनिवासी हुन्। फरक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका अन्सारीसँग यस क्षेत्रमा रहेका मुस्लिम र युवा मतदादाको भरमा रहेका छन्।

अन्सारीले पछिल्लो समय लोसपाका वरिष्ठ नेता जितेन्द्र सोनललाई मधेस प्रदेशको मुख्यमन्त्री बन्न अवरोध गरेका थिए। अन्सारीलाई रातारात रास्वपाले भिœयाएर टिकट दिएपछि वर्षौंदेखि रास्वपामा खटिएका पुराना कार्यकर्ता विरोधमा उत्रिएका छन्।

नेपाल प्रहरी संगठनका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि समुन्नत पार्टी खोलेर यसै क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन्। आफूले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्ने र भ्रष्टाचार गरी कमाएको सम्पत्ति जफत गर्ने वाचा गर्र्दै यहाँका मतदातासँग मत मागिरहेका छन्।

निर्वाचन क्षेत्र नं ४ बाट कांग्रेसका श्यामबाबु प्रसाद गुप्ता, समुन्नत पार्टीबाट नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल, एमालेका कृष्णकुमार श्रेष्ठ (किसान), माओवादी केन्द्रका अजय कुशवाहा, जसपाका मञ्जु साह कानु, रास्पाका रहबर अन्सारी, आम जनता पार्टीका उमेशप्रसाद कुशवाहा, जनमतबाट हसनजान अन्सारीसहित ३९ जना उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

प्रकाशित: २८ माघ २०८२ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App