एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
वादी नेपाल सरकार र प्रतिवादी काठमाडौंको तार्केश्वर नगरपालिका–५ घर भई सोही ठाउँ बस्ने ३१ वर्षीय निकेश तामाङ र भक्तपुर सूर्यविनायक–४ बालकोट बस्ने ३६ वर्षीया रीता प्रधान पौडेललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार तामाङ काठमाडौं जिल्ला अदालतबाट गत जेठ २७ र माघ ४ को आदेशले ९५ लाख बैङ्किङ कसुर ठहर भएका व्यक्ति हुन्। अदालतले उनीबाट थप चार लाख ७५ हजार जरिवाना तथा १९ हजार क्षतिपूर्ति र ४ महिना ५ दिन कैद हुने फैसला गरेको थियो।
त्यसपछि फरार रहेका तामाङलाई खोजतलास गर्ने क्रममा काठमाडौंको तार्केश्वर–५ बाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको पनि भट्टले बताए।
यस्तै, आजै सात लाख ५० हजार बैङ्किङ कसुरका दोषी ठहर भई फरार रहेकी भक्तपुर सूर्यविनायक नगरपालिका–४ बालकोट बस्ने ३६ वर्षीया रीता प्रधान पौडेललाई पनि पक्राउ गरिएको छ।
गत माघ ४ को फैसलाले उनलाई सात लाख ५० हजार बैङ्किङ कसुर गरेकाले ३७ हजार ५०० समेत जरिवाना, एक हजार ५०० क्षतिपूर्ति र दुई दिन कैद तोकिएकी उनी पनि फरार रहेकी थिइन्।
उनलाई खोजतलासका क्रममा आजै बालकोटबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए।
प्रकाशित: २४ चैत्र २०८२ २१:५८ मंगलबार





