निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ। मतपत्र छपाइ सम्पन्न भएपछि फागुनको पहिलो साताभित्र देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्ने गरी काम भइरहेको आयोगको भनाई छ।
निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सामग्री ढुवानीको विस्तृत कार्ययोजना तयार गरेको जनाएको छ। कुल ५१ प्रकारका निर्वाचन सामग्रीमध्ये १४ प्रकारका सामग्री ढुवानीका लागि कार्ययोजना तयार भइसकेको आयोगले जानकारी दिएको छ। ती सामग्रीहरू माघ महिनाको तेस्रो सातासम्म सम्बन्धित स्थानमा पुग्ने आयोगको भनाइ छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नमुना मतपत्र छापेर जिल्लामा पठाइसकिएको छ। समानुपातिक तर्फका २ करोड मतपत्रमध्ये करिब डेढ करोड मतपत्रको छपाइ सकिएको र बाँकी ५० लाख मतपत्रको छपाइ आगामी तीन दिनभित्र पूरा हुने उनले बताए।
भट्टराईका अनुसार माघ ९ गते राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गरिने छ। चिन्ह वितरणपछि प्रत्यक्षतर्फका मतपत्र छपाइको काम सुरु गरिने बताएका छन्।
निर्वाचन आयोगको कार्ययोजना अनुसार प्रत्यक्षतर्फका मतपत्र छपाइ पूरा गरी फागुनको पहिलो सातासम्म देशभरका सबै मतदान केन्द्रमा मतपत्र उपलब्ध गराउने लक्ष्यसहित काम भइरहेको आयोगले जनाएको छ।
प्रकाशित: ८ माघ २०८२ १६:३८ बिहीबार





