१० मंसिर २०८३ बिहीबार
image/svg+xml
राजनीति

मेयर हुँदा ग्रेटर नेपालको नक्सा राख्ने बालेन भारतमा लम्पसार परे: भगवती न्यौपाने

नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणका क्रममा लम्पसार परेर फर्किएको आरोप लगाएकी छन्।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विगतमा मेयर हुँदा ग्रेटर नेपालको नक्सा राख्ने बालेनले प्रधानमन्त्रीका रूपमा भारत जाँदा सीमा र राष्ट्रियताका विषय उठाउन नसकेको बताइन्।

उनले भनिन्, ‘हिजो मेयर हुँदा ग्रेटर नेपालको नक्सा राख्नुहुन्थ्यो, निकै चर्को स्वरमा लिपुलेक र लिम्पियाधुराका कुरा उठ्थे। तर आज भारतमा गएर लम्पसार परेर आउनुभयो।’

दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गर्दा पनि भारत भ्रमणमा ईपीजी प्रतिवेदनबारे एक शब्द नबोली चुपचाप फर्किएको भन्दै न्यौपानेले असन्तुष्टि जनाइन्। भ्रमणका क्रममा भएका कतिपय सहमति विगतकै निरन्तरता मात्र भएको र गर्नैपर्ने महत्त्वपूर्ण निर्णय नगरी फर्किएको उनको भनाइ छ।

भारतका विदेश सचिवले पत्रकार सम्मेलनमार्फत सीमा र लिपुलेकका विषयमा कुनै कुरा नउठेको स्पष्ट पारिसकेको उनले सुनाइन्। सीमास्तम्भसम्बन्धी सहमतिको भाषामा विगतका कामलाई सन्तोष मान्दै उल्लेख गरिएकोमा उनले आपत्ति जनाइन्।

‘सीमामा नेपालले न्याय पाएको छ र ? नेपालको भूमि मिचिएको छैन ?’ उनले प्रश्न गरिन्, ‘प्रधानमन्त्री र राजनीतिक तहबाट हल हुनुपर्ने विषयलाई परराष्ट्र र विदेश सचिव स्तरमा पठाएर टारिएको छ।’

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई जनताले वाहवाही गरेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा न्यौपानेले त्यसलाई अस्वीकार गरिन्। सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक र केही अन्धसमर्थकले मात्र प्रचार गरिरहेको उनको आरोप छ।

बालेन कसरी हिँडे, चस्मा लगाए कि लगाएनन्, कस्तो पहिरन लगाए, कसरी उठे-बसे र मोदीले कस्तो स्वागत गरे भन्ने खालका भिडियो मात्र सामाजिक सञ्जालमा पोस्ट गरिएको उनले टिप्पणी गरिन्।

‘जनताले कहाँ वाहवाही गरेका छन् ? यस्ता गम्भीर विषय छँदैछन्, सधैँ स्टन्टले चल्छ ?’ उनले प्रश्न गरिन्।

अर्को प्रसंगमा न्यौपानेले देशमा महँगी आकाशिएको र विदेशमा रहेका छोराछोरी फर्किएर रोजगारी पाउँछन् भन्ने भ्रम चिरिँदै गएको दाबी गरिन्।

राष्ट्रियताको सवालमा दह्रो अडान लिने, देश जोगाउने र विकास निर्माण गर्ने पार्टी एमाले नै रहेछ भन्ने बुझेर जनताले अहिले पश्चाताप गरिरहेको उनको जिकिर छ।

जनताले एमालेको नाम सुन्न नचाहेको भन्ने सञ्चारकर्मीको प्रश्न खण्डन गर्दै उनले एमाले संगठन निर्माण, कार्यकर्ता जागरण अभियान र जनताका बीचमा आफ्ना एजेन्डा पुर्‍याउने काममा सक्रिय रहेको बताइन्।

हालै राष्ट्रिय भेला सम्पन्न गरेर पार्टीले जनतामाझ जाने निर्णय गरेको उनले जानकारी दिइन्।

प्रकाशित: १० मंसिर २०८३ १५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App