११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बालेनको बयान: मेरो भूमिका आन्दोलन शान्त पार्ने थियो

काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा आफ्नो भूमिका माहोल शान्त पार्ने रहेको दाबी गरेका छन्।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई बयान दिँदै उनले राष्ट्रपति र सेनापतिको आग्रहमा आफूले आन्दोलनलाई शान्त पार्न पहल गरेको बताएका हुन्।

शाहले भदौ २४ गतेको दुखद घटना हुनुमा तत्कालीन सरकारको दमनकारी नीति प्रमुख कारण रहेको औंल्याएका छन्। आन्दोलनका क्रममा भदौ २३ गते सरकारले अत्यधिक बल प्रयोग गर्दै आतंकवादी शैली अपनाएको उनले टिप्पणी गरेका छन्।

तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको दाबी गर्दै शाहले उक्त घटनामा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी तत्कालीन सरकार र सत्ता साझेदार दलहरूले नै लिनुपर्ने बताएका छन्।

बयानका क्रममा उनले भदौ २३ र २४ गते आफू लैनचौरस्थित सरकारी निवासमै रहेको जानकारी दिएका छन्। भदौ २३ गतेको शान्तिपूर्ण र्‍यालीमा आफ्नो समर्थन रहे पनि आफू भौतिक रूपमा आन्दोलनमा सहभागी नभएको उनले बताएका छन्।

व्यवसायी र रेस्टुरेन्ट सञ्चालकहरूको आग्रहमा मात्र महानगर प्रहरी बलले पानी वितरण गरेको उनको भनाइ छ।

त्यस्तै, भदौ २४ गते आगजनी र तोडफोड हुँदा काठमाडौं महानगरपालिकाले समयमै दमकल पठाएको र महानगरभित्रका संरचनामा लागेको आगो महानगरकै दमकलले नियन्त्रणमा लिएको उनले बताएका छन्।

घटनालगत्तै महानगर प्रहरी बललगायत अन्य विभागसँग समन्वय गरी घाइते तथा मृतकका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराइएको उनको भनाइ छ।

भदौ २३ गते बेलुका सञ्चारमाध्यमबाट स्थिति तनावपूर्ण बन्दै गएको थाहा पाएपछि जनधनको रक्षाका लागि सामाजिक सञ्जालमार्फत संयमता अपनाउन अपिल गरेको शाहले बताएका छन्। आफ्नो त्यही अभिव्यक्तिका कारण अनियन्त्रित बन्दै गएको आन्दोलन शान्त पार्न मद्दत पुगेको उनकफ दाबी छ।

यसैगरी, महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदै गर्दा बाटोमा रोकिएपछि विगतमा आफूले फेसबुकमा लेखेको स्टाटसबारे पनि उनले आयोगसमक्ष स्पष्टीकरण दिएका छन्।

अनावश्यक रूपमा गाडी रोकिएपछि विरोधस्वरूप एउटा मेटाफोरको रूपमा मात्र आफूले फेसबुकमा अभिव्यक्ति दिएको र त्यसमा जलाई दिन्छु भन्ने शब्द प्रयोग नभएको उनले जिकिर गरेका छन्।

प्रकाशित: ११ चैत्र २०८२ १७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App