१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

बालेन र सुधन लक्षित ज्ञानेन्द्र शाही- माल खाएर काम गर्छन् कि के हो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधनलाई लक्षित गर्दै उनीहरूको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

मंगलबार संघीय संसद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधनको गतिविधिलाई लिएर आक्रोश व्यक्त गरे।

उनले भने, ‘माल खाएर काम गर्छन् कि के हो ? यस्तो बुद्धि चाहिँ कहाँबाट आउँछ ?’ उनले सिंहदरबार क्षेत्रमा कानुनविपरीतका गतिविधि बढेको भन्दै व्यङ्ग्यसमेत गरे।

राज्यको संवेदनशील संरचना मानिने सरकारी सर्भर डाउन गर्ने र प्रहरीकै गाडी चढेर आएर जथाभाबी पार्किङ गर्ने जस्ता गैरजिम्मेवार हर्कत भइरहेको उनको आरोप छ। ‘राज्यको सर्भर डाउन गर्ने, अनि प्रहरीकै गाडी चढेर आएर पार्किङ गर्ने ? यस्तो गतिविधि पनि कसैले गर्छ ?’ उनले प्रश्न गरे।

प्रहरी प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाउँदै शाहीले नियन्त्रणमा लिइसकेका व्यक्तिलाई कुटपिट गर्नु निन्दनीय भएको बताए। एउटा अभियन्ताले सामान्य सोधपुछ गर्न खोज्दा प्रहरीले बर्बरतापूर्वक कुटेको उल्लेख गर्दै उनले भने, ‘नियन्त्रणमा लिएर अनुसन्धान गर्ने हो कि बंकी बं मुड्की लगाएर कुट्ने हो ? अनि प्रहरी र गुण्डामा के फरक भयो ?’

उनले सो घटनामा संलग्न इन्स्पेक्टरमाथि तत्काल कानुनी कारबाही गर्न माग गरे।

यसैगरी, गृहमन्त्री सुधनको कामकारबाही र उनको मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा पनि शाहीले असन्तुष्टि पोखे।

सरकारी पैसाको दुरुपयोग गरी एआई प्रविधिको सहायताले सामाजिक सञ्जालमा विरोधीहरूको चरित्र हत्या गर्ने काम भइरहेको उनको आरोप थियो।

‘एउटा ‘भिजे’ भन्ने त यिनीहरूले वेबसाइट र टिकटक आइडी नै बनाएका छन्, सरकारी पैसामा। अनि एआईको साउन्ड राखेर मान्छेको चरित्र हत्या गर्ने काम गरिरहेका छन्,’ उनले भने।

प्रकाशित: ३० असार २०८३ १६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App