नेकपा (एमाले) का नेता महेश बस्नेतले हालैको जेन-जी आन्दोलनका क्रममा देखिएको हिंसा र अराजकताका लागि काठमाडाैं महानगरका मेयर बालेन शाहले प्रतिनिधित्व गर्ने ‘मोडल’ लाई दोष दिएका छन्।
उनले यस्तो ‘फेल’ मोडलले युवाहरूलाई अपराधी र आतङ्कवादी बनाइरहेको भन्दै त्यसलाई सफल हुन नदिने चेतावनी दिए।
शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको बडादसैंको अवसरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता बस्नेतले देशमा भएको तोडफोड र आगजनीको पछाडि अन्तर्राष्ट्रिय शक्तिको डिजाइन रहेको र त्यसलाई मलजल गर्ने काम स्वतन्त्रको नाममा उदाएका शक्तिहरूले गरेको आरोप लगाए।
‘युवाहरूको दिमागमा विष भर्न सजिलो छ, तर त्यो विष हटाएर अमृत भर्न गाह्रो हुन्छ,’ बस्नेतले भने, ‘विदेशीको डिजाइनमा, विदेशी एजेन्सीका दलाल र एजेन्ट बनेर युवाहरूलाई अपराधी र आतङ्कवादी बनाउने बालेनहरुको ‘फेल’ मोडललाई सफल हुन दिइने छैन।’
उनले देशमा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म जलाउने र प्रहरीमाथि सांघातिक हमला गर्ने प्रवृत्ति स्वतन्त्र र वैकल्पिक राजनीतिको नाममा भित्रिएको भन्दै आक्रोश व्यक्त गरे।
‘तिमीहरू मेयर र मन्त्री बन्नका लागि विदेशीको फन्डिङमा चलेका छौं,’ उनले भने, ‘तर तिम्रो देश ध्वस्त पार्ने सपना पूरा हुन दिँदैनौं, किनकि यहाँ नेकपा एमाले र केपी ओली छ।’
नेता बस्नेतले स्वतन्त्र मेयरहरूको उदयलाई देशलाई अस्थिर बनाउने विदेशी षड्यन्त्रको एक हिस्साको रूपमा व्याख्या गरे। उनले नेकपा एमाले र त्यसको युवा संगठनले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि जस्तोसुकै प्रतिकार गर्न तयार रहेको सुनाए।
प्रकाशित: ११ आश्विन २०८२ १४:४१ शनिबार





