२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भारतीय मिडियासँग बाबुरामले भने : नेपालमा राजतन्त्र फर्किने सम्भावना ‘शून्य’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापनाको कुनै सम्भावना नभएको बताएका छन्।

टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा उनले राजतन्त्रलाई जनताको जनादेशबाट उखालिएको र यो पूर्ण रूपमा असफल भएको जिकिर गरेका हुन्। 

भट्टराईले राजतन्त्र पुनर्स्थापनाको हल्लालाई ‘केही निहित स्वार्थहरूले उठाएको’ भनेका छन्। 

उनले भनेका छन्, ‘प्रत्येक समाजमा १-२ प्रतिशत सीमान्त तत्वहरू प्रतिगामी मानसिकताका हुन्छन्, जसले विगतको पुरानो सम्झनालाई बोकेका हुन्छन्। तर नेपालमा राजतन्त्रलाई विधिवत् निर्वाचित संविधानसभामार्फत उखालिएको थियो। यो संस्था सन् १९६० को दशकदेखि नै लोकतन्त्रविरुद्ध विद्रोहमा संलग्न थियो। जनताले लोकतन्त्रको महत्त्व महसुस गरेका छन् र उनीहरू राजतन्त्रको पक्षमा छैनन्। यसको पुनर्स्थापना सम्भावना शून्य छ।’

कुराकानीमा उनले सेप्टेम्बरमा भएको जेनजी युवाहरूको विरोध प्रदर्शनबारे पनि टिप्पणी गरेका छन्। उनले नेपाल अझै संक्रमणकालीन चरणमा रहेको बताए। 

उनले भने, ‘हामीले समाजलाई विश्वका अन्य भागको तुलनामा ढिलो लोकतान्त्रिक बनाएका छौँ। राजतन्त्र सन् २००८ मा मात्र समाप्त भएको थियो र सन् २०१५ मा संविधान जारी भएपछि पनि संस्थाहरू पूर्ण रूपमा विकसित भएका छैनन्। सरकारहरूले प्रभावकारी काम गर्न सकेका छैनन्। यसबीच युवाहरूको आकांक्षा डिजिटल प्रविधिसँगै आकाशिएको छ, जसले सेप्टेम्बरमा निराशा विस्फोट भएको थियो। अझै पनि स्थिति उतारचढावपूर्ण छ।’

पूर्वप्रधानमन्त्री भट्टराईले जेनजी प्रदर्शन, नेपाल-भारत सम्बन्ध, अग्निपथ योजनालगायत विषयमा पनि कुरा गरेका छन्। 

प्रकाशित: १६ पुस २०८२ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App