प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचको एकीकरणप्रति खुसी व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले देशमा दुई फरक धारका नयाँ तथा वैकल्पिक शक्तिहरूको निर्माण हुनु सुखद र दूरगामी महत्त्वको परिघटना भएको बताए।
डा. भट्टराईले यही मंसिर ७ गते चार राजनीतिक घटक मिलेर आफ्नो नेतृत्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन भएको र आज रास्वपा र विवेकशील साझाबीच एकता भएको प्रशंग जोड्दै यसले नेपालको लोकतन्त्रको भविष्यलाई बलियो बनाउने विश्वास व्यक्त गरे।
उनले गठन भएका दुई नयाँ शक्तिलाई वैचारिक रूपमा कित्ताकाट समेत गरेका छन्। उनले लेखेका छन्, ‘आफ्नो घोषित प्रतिबद्धता अनुसार प्रलोपाको वैचारिक-राजनीतिक धार मध्य-वाम (लेफ्ट-अफ-सेन्टर) देखापर्छ भने रास्वपाको धार मध्य-दक्षिण (राइट-अफ-सेन्टर) देखिन्छ।’
कुनै पनि देशको राजनीतिमा वाम र दक्षिण धारबीचको प्रतिस्पर्धा र सहकार्यबाट नै लोकतान्त्रिक राज्य-प्रणाली स्वस्थ ढंगले परिचालित हुन सक्ने उनको विश्लेषण छ।
नेता भट्टराईले परम्परागत दलहरूप्रति जनतामा बढेको आक्रोशलाई पनि स्मरण गराएका छन्।
‘विशेषतः जेन-जी विद्रोहपछि परम्परागत रूपमा दक्षिण धारमा रहेको कांग्रेस र वाम धारमा रहेका कम्युनिष्टहरूप्रति आम जनतामा व्यापक वितृष्णा र आक्रोश बढ्दै गएको स्थितिमा नयाँ र वैकल्पिक शक्तिको रूपमा क्रमशः रास्वपा र प्रलोपाको उदयले देशको राजनीतिलाई सकारात्मक दिशातिर लैजान महत्त्वपूर्ण योगदान गर्नसक्छ,’ उनले उल्लेख गरेका छन्।
उनले यस नयाँ राजनीतिक विकासक्रमप्रति सबै सचेत नागरिक र विशेषतः पछिल्लो क्रान्तिकारी आन्दोलनका अगुवा जेन-जी पुस्ताको ध्यान पुग्नुपर्नेमा जोड दिए।
प्रकाशित: १४ मंसिर २०८२ १९:५६ आइतबार





