२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन्।

आज मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारीका विविध आयाम तथा सञ्चार क्षेत्रको सुदृढीकरण र डिजिटल रूपान्तरणका विषयमा छलफल भएको हो। साथै संघीयताको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा थप सहकार्य गर्न सकिने क्षेत्रबारे चासो व्यक्त गरेका छन्। लोकतन्त्रको आधारभूत मूल्यका रूपमा अभिव्यक्ति स्वतन्त्रता र विचार स्वतन्त्रताको संरक्षण अपरिहार्य रहे पनि पछिल्लो समय बढ्दो गलत सूचना र दुष्प्रचार चुनौतीका रूपमा देखिएकाले त्यसको नियन्त्रण तथा व्यवस्थापनमा साझा प्रयास आवश्यक रहेको धारणा राखेका छन्।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले अष्ट्रेलियाले नेपाललाई उपलब्ध गराउँदै आएको विकास सहायताका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका छन्। उनले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमको दायरा विस्तार गर्न आग्रह गर्नुका साथै हुलाक सेवाको आधुनिकीकरण, डिजिटल नेपाल निर्माण तथा सूचना प्रविधिमा आधारित सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा अष्ट्रेलियाको प्राविधिक सहयोग अपेक्षित रहेको बताएका छन्।

त्यसैगरी, नेपाल मानव अधिकार, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले पत्रकारिता जिम्मेवार, तथ्यपरक तथा व्यावसायिक हुनुपर्नेमा सरकार गम्भीर रहेको जनाएका छन्। शिक्षा, रोजगारी, पर्यटन तथा सांस्कृतिक आदानप्रदानमार्फत नेपाल–अष्ट्रेलिया सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: १७ असार २०८३ १९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App