२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

बलियाले भनेको नमानेकै आधारमा साना देशमाथि आक्रमण स्वीकार्य छैन : रघुजी पन्त

फाइल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले शक्तिशाली देशले आफूले भनेको नमानेकै आधारमा साना देशमाथि आक्रमण गर्ने र दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्।  

शुक्रबार काठमाडौंमा आयोजित ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण पुस्तक विमोचन समारोहमा बोल्दै पन्तले विश्वमा कुनै एक देश वा शक्तिको हैकम चल्ने अवस्था स्वीकार गर्न नहुने बताए। 

पन्तले नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गर्दै विश्व व्यवस्थामा बलियो पक्षले नै जित्नुपर्छ भन्ने मान्यता स्वीकार्य नहुने बताए। 

‘हामी बुद्धका विचारहरूबाट, बुद्धका भावनाहरूबाट प्रभावित मानिसहरू हौँ । चीन पनि, चिनियाँ जनता पनि र हामी नेपालीहरू पनि,’ उनले भने, ‘हामी विभिन्न धर्म मान्न सक्छौँ तर प्रत्येक नेपालीको मनमा बुद्धप्रति विशेष सद्भाव, आस्था र विश्वास रहेको पाइन्छ।’  

पन्तले भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले व्यक्त गरेको धारणा उद्धृत गर्दै शक्तिशाली देशले साना देशमाथि दबाब सिर्जना गर्ने प्रवृत्तिको विरोध गरे। 

‘बलियाको नै जित हुनुपर्छ भन्ने तर्क मान्य हुँदैन र यसलाई धेरै पहिले नै त्याग्नुपर्थ्यो,’ सीको भनाइ उद्धृत गर्दै पन्तले भने। 

उनले आफूले भनेको नमान्ने साना देशमाथि शक्तिशाली राष्ट्रले आक्रमण गर्ने तथा आफ्ना शर्त स्वीकार गराउन दबाब दिने प्रवृत्ति देखिएको बताए। विश्वमा अहिले कर तथा व्यापारसम्बन्धी विवादसमेत बढिरहेको उनले उल्लेख गरे। 

पन्तले कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रविधिको प्रयोगलगायतका विषयमा समेत विश्वस्तरमा बहस भइरहेकाले त्यससँगै विश्व व्यवस्थामा कुनै एक शक्तिको हैकम कायम गर्ने प्रयास स्वीकार गर्न नहुने बताए।

‘संसारमा हैकम चलाउने कुरा हुँदैन,’ उनले भने। 

प्रकाशित: २ आश्विन २०८३ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App