२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सेना र सांसद पाण्डे विवाद : हुकुमी शैली र चुलबुल पाण्डे प्रवृत्ति निन्दनीय, सेनालाई अपमान नगरेको पाण्डेको प्रष्टिकरण

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डे र नेपाली सेनाका एक अधिकृतबीच काठमाडौंको गोकर्ण क्षेत्रमा करिडोर विस्तारका क्रममा भएको विवादको भिडियो सार्वजनिक भएपछि नयाँ बहस सिर्जना गरेको छ। घटनाप्रति नेपाली सेनाले आपत्ति जनाएको छ भने जेनजी अभियन्ताहरूले राज्यका संस्थामाथिको प्रहार भएको बताएका छन्। 

गोकर्णस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको जग्गामा नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल करिडोर विस्तारका क्रममा हटाउने विषयलाई लिएर पाण्डे र सेनाका अधिकृतबीच केहीबेर भनाभन भएको थियो। भिडियोमा सेनाका अधिकृतले पर्खाल नभत्काउन र आवश्यक अनुमति तथा समन्वयको माग गर्दै गर्दा सांसद पाण्डेले करिडोरको मापदण्ड सबैका लागि समान रूपमा लागू हुने बताएका थिए। 

जेनजी अभियान्ता माजिद अन्सारीले उक्त भिडियो सञ्जालमा आएसँगै सांसद पाण्डेको व्यवहारलाई ‘चुलबुल पाण्डे’ शैलीको बताएका छन् । उनले लेखेका छन्, ‘माननीय राजुनाथ पाण्डेज्यूले नेपाली सेनाको एक जना अधिकृतसँग प्रस्तुत गर्नुभएको चुलबुल पाण्डे जस्तो हेपाहा र हठी प्रवृत्ति निन्दनीय छ। लोकतन्त्रमा प्रश्नभन्दा माथि कुनै संस्था हुँदैन र सेना प्रहरी जनप्रतिनिधिको निगरानीमा रहने कुरामा विमति छैन। , उनले थपेका छन् , ‘तर जनप्रतिनिधिले गर्ने व्यवहार वा नीतिगत निर्देशन कानूनले तोकेको प्रक्रिया र लोकतान्त्रिक मर्यादा अनुकूल हुनुपर्छ।’  

संविधानवाद र विधिको शासनमा प्रधानमन्त्रीजत्तिकै स्वायत्तता कानून बमोजिम काम गर्ने नेपाली सेना र प्रहरीको पनि हुने उनले बताएका छन्। साथै जनप्रतिनिधिको नाममा हुकुमी शैली र हुर्मत लिने प्रयास जो कोहीबाट भए पनि त्यसको प्रतिवाद सबैले गर्नुपर्ने उनको भनाई छ। 

त्यसैगरी अर्की जेनजी अभियान्ता रक्षा बमले राज्यका संस्थामाथि क्रमशः भइरहेको हस्तक्षेप र अवमूल्यनप्रति दुख व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन, ‘उनीहरूले सुरुमा कर्मचारी, मन्त्री, सांसद, प्रहरी, प्रदेश, स्थानीय तह, सुकुम्बासी र देशको सीमाको अपमान गरे त्यतिबेला कोही बोलेन। यसरी राज्यका प्रत्येक संस्थामाथि क्रमशः धावा बोल्दै जाँदा यसपटक सेनामाथि पर्‍यो, अनि मात्र सिंगो देश दुखे जस्तो देखिन थालेको छ।’  

राज्यका संस्थामाथिको अवमूल्यन  सामान्य बन्दै जाँदा कसैले समयमै प्रतिवाद नगर्दा त्यसले राज्यलाई प्रणालीगत असफलतातर्फ लैजाने भन्दै उनले चिन्ता व्यक्ति गरेकी छिन्। 

गोकर्णमा डोजर लगाएर पर्खाल भत्काउन खोज्दा त्यहाँ तैनाथ सैनिक अधिकारीले स्पष्ट कानुनी आदेश र पत्राचारको माग गरेका थिए। ति अधिकारीले भनेका थिए, ‘यहाँ फौज बसेको छ, यो ब्यारेक हो। पर्खाल भत्काउन अनुमति लिएको आधिकारिक निर्णय, आदेश वा पुर्जी त चाहिन्छ। पर्खाल भत्काउँदा यहाँका जंगली जनावर भागे के होला ?’  

यस घटनालाई नेपाली सेनाले गम्भीर रूपमा लिदै प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी उक्त घटनाबारे ध्यानाकर्षण भएको बताएका थिए । यता सांसद पाण्डेले आफूले सेनाको अपमान नगरेको र नागरिक सर्वोच्चता तथा कानुनी मापदण्ड पालना गराउन खोजेको बताएका छन्। 

पाण्डेले सञ्चारमाध्यममा भनेका छन्, ‘म बर्दीबाट आएको मान्छे हुँ, बर्दीको इज्जत गर्छु। नेपाली सेनाले सधैँ नागरिक सर्वोच्चताको सम्मान गर्छ। बजारको हल्लाको पछाडि नलाग्नुस्। सडक विस्तारका क्रममा अधिकार सम्पन्न बागमती र नेपाल ट्रस्टसँग समन्वय गरेरै डोजर लगिएको हो।’ 

उनले केहि मिनेट समन्वयमा ढिलाइ हुँदा क्याप्टेन साब आएको समेत बताएका छन् । चौतर्फी आलोचनापछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै सांसद पाण्डेले राष्ट्र निर्माणमा सेनासँगको सहकार्य अपरिहार्य रहेको बताएका छन्। ‘ नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद्का प्रत्येक चुनौतीपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रही अतुलनीय योगदान पुर्‍याउँदै आएको संस्था हो।

 सेनाको गौरवशाली इतिहास, अनुशासन र समर्पणप्रति म पूर्ण विश्वास व्यक्त गर्दछु। काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता र पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सेनाकै पूर्ण सहयोग र सहकार्यमा सडक विस्तार कार्य सम्पन्न भएको हो।’ उनले विज्ञप्ति मार्फत भनेका छन्। 

प्रकाशित: १९ श्रावण २०८३ १८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App