३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचनमा नजाने निर्णय गरेका अर्जुननरसिंह केसी कांग्रेसको समानुपातिक बन्द सूचीमा

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी कांग्रेसको समानुपातिक बन्द सूचीमा परेका छन्। नेपाली कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा केसीको नाम समावेश गरिएको हो।  

गत निर्वाचनपछि नै प्रतिनिधिसभाको चुनावमा नजाने र पार्टीमा आन्तरिक सहयोगमा सीमित रहने भनेका केसी पुनः निर्वाचन प्रक्रियामा सामेल हुने देखिएको छ। कांग्रेसको समानुपातिक सूचीमा केसीसँगै पूर्वमन्त्री रोमी गौचन थकाली, भीष्म आङदम्बे र भीमसेनदास प्रधानलगायतका नेताहरूको नाम पनि समावेश गरिएको छ। यसैबीच अर्जुननरसिंह केसीलाई समानुपातिक सूचीमा राख्न कांग्रेस महामन्त्री गगन थापाको भूमिका रहेको बताइएको थियो।  

उक्त हल्लापछि थापाले सामाजिक सञ्जाल मार्फत केसीलाई समानुपातिक सूचीमा राख्ने निर्णय आफ्नो नभएको बताएका छन्। ‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला छ। म स्पष्ट पार्न चाहन्छु, यो मेरो चाहनाविपरीत हो। मेरो अनुरोध र हरसम्भव प्रयास विपरीतको निर्णय हो। कुनै बेला पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र संकल्पसहित चुनाव लड्यौं। यसपटक पनि अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मतभिन्नता रह्यो,’ थापाले लेखेका छन्।

प्रकाशित: १६ पुस २०८२ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App