राजनीतिक विश्लेषक मुमाराम खनालले ‘देश बनाउने टोली’ को अवधारणालाई ‘फन्टुस कथन’ को संज्ञा दिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा तस्बिर र त्यसको क्याप्सनलाई लिएर चर्चा भइरहेको बेला खनालले यस्तो टिप्पणी गरेका हुन्।
खनालले लेखेका छन्, ‘केही थान व्यक्तिहरूले ‘देश बनाउने’ भन्ने फन्टुस कथन पटक पटक मात्र होइन, धेरैभन्दा धेरै पटक सबै दलका कोरा भावना बेच्ने धूर्त व्यापारीहरूले बेचेर सकिएको रित्तो कथन मात्र हो।’
मुलुक व्यक्तिले नभई विधि र विधानको आधारमा बलियो संस्थागत विकास र विश्वासले मात्र बन्ने तर्क खनालको छ। विगतका नेताहरूलाई व्यंग्य गर्दै उनले अगाडि लेखेका छन्, ‘कपालमा जेल लगाएर कुम हल्लाउँदै सिंगापुर बनाउने ‘फन्टुस’ देखिएको हो। र, ‘ठोरीका राम’ ले देश बनाएर सकिसकेको पनि देखेकै हो। अब यिनै काला चश्मा देख्न मात्र बाँकी थियो।’
उनले नयाँ नेतृत्वलाई गफभन्दा काममा केन्द्रित हुन सुझाव दिँदै लेखेका छन्, ‘भयो साथीहरू, सकेको काम इमान्दारीपुर्वक गर। ‘देश बनाउने’ भन्ने कुरा एउटा रोग हो- यो रोगको चाँडै उपचार गर।’
प्रधानमन्त्री शाहले आइतबार राति आफ्ना दुई मन्त्री (गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल) मन्त्रीहरूसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भनेर क्याप्सन लेखेका थिए। त्यसपछि नै यो विषय चर्चामा रहेको छ।
प्रकाशित: १ असार २०८३ ११:२८ सोमबार





