राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद डा. अमरेशकुमार सिंहले देशभरका सार्वजनिक निकायमाथि हस्तक्षेप भइरहेको भन्दै सरकारको सुशासन र समृद्धिको दाबीमाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै सांसद सिंहले सेना, प्रहरी र कर्मचारी संयन्त्रको हुर्मत लिने काम भइरहेको आरोप लगाएका हुन्।
राज्यका निकायहरूमाथि भइरहेको हस्तक्षेपले संस्थागत गरिमा खस्किएको उल्लेख गर्दै सिंहले सांसदहरूका अमर्यादित अभिव्यक्तिका कारण स्वयं सम्मानित संसद्कै बेइज्जती भइरहेको टिप्पणी गरेका छन्।
साथै, राज्यद्वारा भइरहेको धरपकडका कारण उद्योगी तथा व्यवसायीहरू त्रसित बनेको उनको भनाइ छ।
सरकारको परराष्ट्र नीतिको समीक्षा गर्दै सांसद सिंहले अन्तर्राष्ट्रिय स्तरमा गम्भीर विश्वासको सङ्कट (ट्रस्ट डेफिसिट) सिर्जना भएको दाबी गरेका छन्। वर्तमान गतिविधिहरूले मुलुकलाई अघि बढाउनुको सट्टा झन् पछाडि धकेल्ने काम गरिरहेको उनको ठहर छ।
सरकारको समग्र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सिंहले प्रश्न गरेका छन्, ‘देशैभरका सार्वजनिक संस्थामाथि हस्तक्षेप र सेना, प्रहरीको हुर्मत लिने काम भएको छ। के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ ? अब सोच्ने बेला भएको छैन ?’
प्रकाशित: २८ श्रावण २०८३ २१:३८ बिहीबार




-600x400.jpg)
