१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक जारी

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक जारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी एमालेसहित ११ राजनीतिक दलका नेताहरू सहभागी छन्।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको सम्भाव्यता र सुरक्षाबारे दलहरूबीच मतभेद बढिरहेका बेला प्रधानमन्त्री कार्कीले पहिलो पटक सामूहिक छलफल आयोजना गरेकी हुन्।

जेन-जी आन्दोलनको जगमा प्रधानमन्त्री बनेपछि उनले आयोजना गरेको यो पहिलो सर्वदलीय बैठक हो।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन हुन नसक्ने भन्दै संसद् पुनःस्थापनाको माग गरिरहेको सन्दर्भमा प्रधानमन्त्रीले साझा धारणा बनाउन संवाद थालेकी हुन्।

छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली तथा माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी छन्।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन्।

एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी, नेमकिपाबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह बैठकमा उपस्थित छन्।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, कृषिमन्त्री मदन परियार र मुख्य सल्लाहकार अजयभद्र खनाल पनि बैठकमा सहभागी छन्।

विशेषगरी, यस बैठकमा पूर्वप्रशासक केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पर्यवेक्षकको रूपमा सहभागी गराइएको छ।

प्रकाशित: ४ कार्तिक २०८२ १७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App