२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

कर्णालीका सबै नागरिकलाई बिमाको पहुँच आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका सबै नागरिकले बिमा सेवाको पहुँच पाउनुपर्ने बताएका छन्। नेपाल बिमा प्राधिकरणले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा उनले बिमालाई नागरिकको दुःखको सारथीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कँडेलले कर्णालीजस्ता दुर्गम क्षेत्रमा अझै पनि बिमा सेवाको पहुँच पर्याप्त नभएको उल्लेख गर्दै गाउँगाउँसम्म सेवा विस्तार गर्नुपर्ने बताए। कर्णालीका नागरिकमा बिमाप्रति सकारात्मक धारणा रहेकाले त्यसलाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक रहेको उनको भनाइ थियो।

आर्थिक कारोबार गर्ने संस्था तथा व्यक्तिहरू विश्वसनीय र आर्थिक रूपमा अनुशासित हुनुपर्ने उल्लेख गर्दै उनले बिमा दाबी भुक्तानी प्रक्रियालाई थप सरल र छरितो बनाउन आग्रह गरे।

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षति सम्बोधन गर्न ‘सामूहिक दुर्घटना बिमा कार्यक्रम’ लागू गरेको जानकारी पनि मुख्यमन्त्री कँडेलले दिए। मन्त्रिपरिषद्बाट स्वीकृत ‘विपद् जोखिमविरुद्ध सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच एक वर्षका लागि बिमा सम्झौता गरिएको उनले बताए।

उनका अनुसार प्राकृतिक विपद्बाट हुने क्षतिको बिमा कार्यक्रम ३० वैशाख २०८३ देखि लागू हुने गरी एक वर्षका लागि नवीकरण गरिएको छ। उक्त योजनाअन्तर्गत कर्णाली प्रदेशका १६ लाख ८८ हजार ४१२ नागरिक समेटिएका छन्।

प्रतिव्यक्ति दुई लाख रुपैयाँ बराबरको बिमा सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ। कुल बिमाशुल्क एक करोड ५७ लाख ५२ हजार ९०४ रुपैयाँ रहेको र उक्त रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले व्यहोर्ने मुख्यमन्त्री कँडेलले जानकारी दिए।

सम्झौताअनुसार प्राकृतिक विपद्का कारण मृत्यु भएका व्यक्तिका परिवारले बिमा दाबी गर्न पाउनेछन्। घटना भएको ३५ दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था छ। तोकिएको अवधिभित्र दाबी गर्न नसकिए ढिलाइको कारण खुलाएर सम्बन्धित कार्यालय, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहको सिफारिससहित १८० दिनभित्र दाबी गर्न सकिने प्रावधान राखिएको छ।

बिमा सुविधा प्राप्त गर्न कर्णाली प्रदेशको स्थायी बासिन्दा हुनुपर्नेछ। यद्यपि देशको जुनसुकै स्थानमा प्राकृतिक विपद्का कारण मृत्यु भएका कर्णालीका स्थायी नागरिक पनि यस योजनाअन्तर्गत समेटिने व्यवस्था गरिएको छ। कर्णालीमा कार्यरत अन्य प्रदेशका नेपाली नागरिकलाई समेत कार्यक्रममा सहभागी गराइएको छ।

बिमाले हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोट, भूकम्प, बाढी, पहिरो, डुबान, हुरीबतास, आँधीबेहरी, शीतलहर, तातो हावाको लहर, चट्याङ, आगलागी, डढेलो, जङ्गली जनावरको आक्रमणलगायत प्राकृतिक विपद्बाट हुने मृत्युका घटनालाई समेट्नेछ।

सम्झौतामा बिमा भुक्तानी प्रक्रियालाई प्रभावकारी बनाउन कम्पनी, कार्यालय र लाभग्राहीबीच समन्वय संयन्त्र विकास गर्नुपर्ने उल्लेख गरिएको छ। साथै स्थानीय तहको सिफारिस र आवश्यक कागजातलाई प्रमाणका रूपमा स्वीकार गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: १ जेष्ठ २०८३ १८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App