राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू स्थगित गरेको छ।
केन्द्रीय निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्म अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो।
सूचनामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको विधान, २०७९ (तेस्रो संशोधन सहित) को दफा ४९ तथा दफा ५९ बमोजिम केन्द्रीय निर्वाचन आयोगलाई प्राप्त अधिकार प्रयोग गरी मधेश प्रदेश अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न आवश्यक देखिएकाले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्पूर्ण पार्टी सदस्यहरू, प्रतिनिधिहरू, उम्मेदवारहरू, प्रदेश तथा जिल्ला तहका पार्टी पंक्ति एवं सरोकारवालाहरूको जानकारीका लागि सूचित गरिन्छ।’
यस्तै, रास्वपाले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू स्थगित गरिएको जनाएको छ।
प्रकाशित: २६ जेष्ठ २०८३ १३:५४ मंगलबार



-600x400.jpg)

