१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

सत्ता फेरबदलकाे गाेलचक्करमा कर्णाली सरकार: बजेटपछि नेतृत्व फेर्ने सहमति

दुई साताअघि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले कर्णालीमा आफ्नो पार्टीले नेतृत्व गर्ने बेला आएको धारणा सार्वजनिक गरेका थिए। आलोपालो सहमतिअनुसार एमालेले नेतृत्व छाड्नुपर्ने र कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने उनको भनाइ थियो।

सभापति थापाले सार्वजनिक मञ्चबाट सरकार फेर्ने कुरा मात्रै गरेनन्, त्यसका लागि उपसभापति विश्वप्रकाश शर्मालाई सत्ता साझेदार दल एमालेको नेतृत्वसँग छलफलका लागि जिम्मेवारी तोकिएको बताए। सभापतिको धारणा सार्वजनिक भएको केही दिनपछि उपसभापति शर्मा सरकार परिवर्तनको विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास पुगे।

सरकार परिवर्तनका लागि एमाले अध्यक्ष ओली र कांग्रेस नेतृत्वबिच भएको छलफलको परिणाम भने अहिलेसम्म देखिएको छैन। ‘प्रदेशमा आएर नेता–कार्यकर्तामाझ सरकार परिवर्तन गर्छौं भनेर सभापति, उपसभापति राजधानी फर्कनुभएको हो,’ कांग्रेसका एक सांसदले भने, ‘काठमाडौं पुगेपछि के के छलफल भयो, सरकार परिवर्तनको विषय कहाँ पुग्यो, केही खबर गर्नुभएको छैन।’

प्रदेशमा सरकारमा रहेका दुई दलबिच आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि सरकारको नेतृत्व परिवर्तन गर्ने लगभग सहमति छ। तर सभापति थापाले नै तत्काल सरकार परिवर्तनको कुरा गरेपछि केही समय सरकार परिवर्तनको विषय देशव्यापी चासोको विषय बनेको थियो।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही अहिले बजेट निर्माणको चटारो भइरहेका बेला सरकार परिवर्तन सम्भव नभएको बताए। ‘नयाँ मन्त्री आउँदा उहाँहरूलाई बुझ्नै केही समय लाग्छ, स्वागत–सत्कारमै समय बित्छ,’ उनले भने, ‘सरकार परिवर्तन कि चैतमै गरेको भए हुन्थ्यो, अहिले सम्पूर्ण ध्यान बजेट निर्माणमा दिनुपर्छ।’

उनले सबै प्रदेशहरूमा प्रमुख दुई दल कांग्रेस र एमालेको सहकार्यमा सरकार सञ्चालन भइरहेकाले कर्णालीको मात्रै सरकार परिवर्तन व्यावहारिक नहुने बताए। ‘केन्द्रमा शीर्ष नेताहरूबिच प्रदेशका सरकारहरू परिवर्तनका लागि छलफल चलिरहेको छ,’ उनले भने, ‘प्याकेजमा हुने सहमति प्रदेशमा कार्यान्वयन होला।’

२०८१ साउनदेखि कर्णालीमा कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री छन्। एमाले प्रदेशसभाका प्रमुख सचेतक टेकराज पछाईं प्रदेशमा हुने छलफलले नेतृत्व परिवर्तन सम्भव नभएको बताए। ‘त्यसैले प्रदेशस्तरमा सरकार परिवर्तनको विषयमा कुनै कुरा भएको छैन,’ उनले भने, ‘नेतृत्व परिवर्तनको कुरा केन्द्रको निर्णयमा भर पर्छ।’

उनले बजेटअघि नै मन्त्रीहरू परिवर्तन गर्ने विषयमा भने दुवै दलबिच छलफल भइरहेको बताए। ‘प्रदेश माननीयज्यूहरूले मन्त्री फेर्ने विषयमा दबाब दिइरहनुभएको छ, प्रदेशस्तरमा यस विषयमा दुवै पार्टीबिच छलफल पनि चलिरहेको छ,’ उनले भने, ‘नेतृत्व (मुख्यमन्त्री) फेर्ने विषय भने केन्द्रको निर्णयमा भर पर्छ।’४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५ र नेकपा एमालेका १० सांसद छन्।

प्रकाशित: ८ जेष्ठ २०८३ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App