१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

कारागारबाट छुटेपछि रविले भने- ‘अबको नेतृत्व जेन-जीको माग अनुसार’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको आगामी नेतृत्व ‘जेनजी’ (युवा पुस्ता) को माग र परिकल्पना अनुसार हुनुपर्नेमा जोड दिएका छन्।

मंगलबार राजधानीमा भएको प्रदर्शन र त्यसपछिको दबाबपछि कारागारबाट रिहा भएका लामिछानेले आन्दोलनलाई संयमित बनाउन र राष्ट्रिय सम्पत्तिको रक्षा गर्न सबैलाई अपिल समेत गरे।

उनले हालैको आन्दोलनलाई ‘बिशुद्ध जेनजीको’ आन्दोलनको भएको बताउँदै भने ‘मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेनजीकै परिकल्पना अनुरुप अघि बढ्नुपर्छ भन्ने कुरामा म स्पष्ट छु। म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु।’

भ्रष्ट नेताहरूप्रति आक्रामक देखिएका लामिछानेले उनीहरूलाई ‘देशका लुटेरा’ को संज्ञा दिँदै उनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग गरे।

उनले भनेका छन् ‘यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ। यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन्। यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ।’

यद्यपि, आन्दोलनका क्रममा संयमित हुन र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न उनले सबैलाई आग्रह गरे। ‘हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरु जोगाउन जरुरी छ। राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्तावेजहरु नास हुनसक्छन्।’

आफ्नो रिहाइबारे बोल्दै उनले आम नागरिकको दबाबपछि कानुनी प्रक्रिया पूरा गरेर आफू छुटेको बताए। लामिछानेले आफू कानुनप्रति बफादार रहेको र भविष्यमा आइपर्ने सबै कानुनी प्रक्रियाका लागि तयार रहेको पनि प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २४ भाद्र २०८२ १९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App