प्रधानन्यायाधीश सिफारिस प्रक्रियाको विरोध गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा चौथो वरियताका न्यायाधीश डा मोहन शर्मालाई सिफारिस गरेपछि सिलवालले प्रक्रिया नै गलत भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
चौथो वरीयतामा रहेका न्यायाधीशलाई सिफारिस गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।
न्यायाधीश र न्यायलय स्वतन्त्र हुने राष्ट्रिय/अन्तराष्ट्रिय कानुन विपरित प्रधान न्यायधिशको सिफारिश प्रक्रिया र लोकतान्त्रिक राज्यको मूल्य मान्यता विपरित भएको भन्दै सिफारिश खारेज गर्न मागसहित सिलवालले रिट दायर गरेका छन् । नेपालमा प्रजातन्त्र बहाली भएर नयाँ व्यवस्था आउँदा पनि बरिष्ठताकै आधारमा न्यायाधीश नियुक्ति गर्ने अभ्यास कायम रहेको, संविधानको धारा ८४ ले व्यवस्था गरेको स्वतन्त्र न्यायलयको बर्खिलापमा सिफारिश भएको र संयुक्त राष्ट्रसंघको घोषणा समेत उल्लंगन गरी सिफारिश भएकाले मुद्दा दायर गर्न बाध्य भएको अधिवक्ता सिलवालले नागरिकलाई बताए । उनले भने, ‘नेपालमा जति व्यवस्था र सरकार फेरिएपनि न्यायलयमा यो तहको हस्तक्षेप भएको थिएन । जुन अहिले भइरहेको छ।’
प्रधानन्यायाधीश र न्यायालय कहिल्यै पनि कार्यपालिकाको हस्तक्षेप हुन नहुने राष्ट्रिय/अन्तराष्ट्रिय कानुनले स्वीकार गरेको मान्यता भएकोले सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति बरिष्ठताको आधारमा हुनु पर्ने तर्क डा. सिलवालको छ ।
प्रकाशित: २५ वैशाख २०८३ १५:१५ शुक्रबार





