७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

भ्रष्टाचारविरुद्धको कारबाही रोकिन्न, थप कडा हुन्छ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन्। 

जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उनले बताइन ।  

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, 'हामी काम गर्न नै आएको हो। जे सकेको गरिरहेका छौँ। युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरुप जसरी पनि हामीले काम गर्नु छ। यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन। हामी रोकिँदैनौँ।'

निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको पनि उनले बताइन । भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचनाहरु नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको प्रधानमन्त्रीको भनाइ छ ।  

उनले भनिन्, 'हामीकहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ। केन्द्रीय अनुन्धान ब्युरो छ। विगतमा ती निकायलाई प्रभावकारी रुपमा काम गर्न नदिइएको हुन सक्छ। दलीय प्रभाव परेको हुन सक्छ। हामी कुनै प्रकारको दबाब दिँदैनौँ। ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन्। प्रभावकारी ढंगले चल्न सकून्। समानान्तररुपमा धेरै संरचना बनाएर मात्र पनि नतिजा आउने होइन। मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो।'

अहिले अख्तियारले पनि आफ्नो रफ्तार बढाइरहेको प्रधानमन्त्रीको भनाइ छ ।  

'तपाईँहरुले समाचारमा पढिरहनुभएकै होला। केही ठूला भ्रष्टाचारका विषय  र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरुले कदम चालेका छन्,' उनले भनिन् ।  

नेता किराँतीसहित प्रतिनिधिमण्डलका अन्य सदस्यले जेनजीका आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गरेका थिए ।  

प्रकाशित: १७ मंसिर २०८२ २०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App