१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

निर्वाचन प्रहरीको जिम्मेवारीसँगै सिर्जनाको स्वाद

भनिन्छ -निर्वाचन लोकतन्त्रको नृत्य हो। मतपेटिका, मतदाता र मतगणनाको गम्भीर तालभित्र लोकतन्त्र आफ्नै लयमा नाचिरहेको हुन्छ तर यसपटक त्यो नृत्यलाई अझै रंगीन बनाइदिएका छन् निर्वाचन प्रहरीहरूले। उनीहरूले चलेका गीतहरूमा आकर्षक नृत्य गर्दै सर्वसाधारणमा रमाइलो पस्केका छन्। गम्भीर अनुशासन, समयको कडाइ र जिम्मेवारीको भारीबिच उनीहरूले फुर्सदका केही मिनेटलाई सिर्जनामा बदलेका हुन्। यतिबेला सामाजिक सञ्जाल विशेषगरी टिकटिक, फेसबुक रिल्स निर्वाचन प्रहरीका रमाइला नृत्य, अभिनय र सिर्जनाले भरिएका छन्। भर्भराउँदा सुन्दर युवाहरूलाई निर्वाचन प्रहरीको पोशाक झनै सुहाएको देखिन्छ तिनका अभिनयमा।

विगतमा भाइरल भएका ‘सागर, वसन्ते ‘किस्ने’ लगायतका टिकटक भिडियोहरू सम्झाउने शैलीमा यसपालि निर्वाचन प्रहरीहरू नै ट्रेन्डिङमा छन्। ‘नमस्ते ढोगदिया’देखि, ‘बेहुला बनाउँछु भन्थी’ लगायत बोलका गीत चर्चामा छन्। हँसिलो अनुहारले समूहमा नाचेका उनीहरूसँगै रमाइलो हेर्नेको पनि भिड देखिन्छ। ‘यो ड्रेसले मनमा खुसी दिएको छ,’ निर्वाचन प्रहरी विनिता थिङ भन्छिन्, ‘जिम्मेवारीको ख्याल गर्दै रमाइलो गरेका हौं।’

निर्वाचन प्रहरीहरूलाई तालिमका क्रममा अनुशासन, भिड नियन्त्रण, मतपेटिका सुरक्षा, आकस्मिक अवस्थाको व्यवस्थापनजस्ता विषयमा प्रशिक्षण दिइन्छ। यस पटकको निर्वाचनमा एक लाख ३३ हजार नौ सय ८० निर्वाचन प्रहरी खटिएका छन् तर प्रशिक्षकहरूले मनोबल उच्च राख्न ‘टिम बिल्डिङ’, गतिविधि, सामूहिक व्यायाम र हल्का सांस्कृतिक प्रस्तुति पनि गराएका थिए। उनीहरूले ड्युटी सकिएपछि वा फुर्सदको समयमा बनाइएका छोटा भिडियोहरूले युवा पुस्तामा निर्वाचनप्रति चासो बढाएको देखिन्छ।

६४ सालमा यस्तो थिएन

२०६४ सालको संविधानसभा निर्वाचनमा ‘म्यादी प्रहरी’ रहेकी कोपिला सापकोटा अहिले हाँस्दै त्यो बेला सम्झिछिन्। ‘पहिला यति धेरै रमाइलो हुन्नथ्यो। ६४ सालमा त मोबाइल पनि सबैसँग थिएनल’ उनी भन्छिन्, ‘अहिलेको माहोल देख्दा फेरि भर्ना होऊँ जस्तो लाग्यो।’

उतिबेला पनि रमाइलो त गरिएको हो तर अहिलेको जस्तो सामाजिक सञ्जालमा नदेखिएको उनले बताइन्। ‘नाचगान त हुन्थ्यो नै तर साथीभाइले मात्र हेर्थे,’ उनले भनिन्, ‘अहिले भने नाचेगाएको संसारलाई देखाउन सकिएको छ।’

उनको भनाइले समयको अन्तर देखाउँछ। पहिले निर्वाचन प्रहरी भनेको कठोर अनुहार, कडा व्यवहार र तनावपूर्ण ड्युटीको पर्याय थियो। अहिले पनि जिम्मेवारी उस्तै गम्भीर छ तर अभिव्यक्तिको माध्यम फरक छ। निर्वाचन प्रहरीहरूले विभिन्न नेपाली गीत (लोकदोहोरीदेखि आधुनिकसम्म) र ट्रेन्डिङ विभिन्न धुनमा नृत्य गरेका भिडियोहरू सार्वजनिक गरेका छन्।

कतिपयले नाचेको र रमाएको मन नपराए पनि धेरैले ‘लाइक’ गरेका छन्। अझ युवा मतदाताहरूले ती भिडियोमा सकारात्मक प्रतिक्रियासमेत दिएका छन्। ‘लोकतन्त्र रमाइलो पनि हुन सक्छ,’ सामाजिक सञ्जालमा प्रभाकर थापा लेख्छन्, ‘सुरक्षाकर्मीहरू पनि हामीजस्तै युवा रहेछन्, ड्रेसमा पनि ऊर्जा झल्किएको छ।’

रमाइलो र जिम्मेवारीको सीमारेखा

नाचगान आफैंमा रमाइलो त हुन्छ नै, जिम्मेवारीलाई पनि ख्याल गर्नुपर्छ। त्यसकारण सामाजिक सञ्जालमा देखिने निर्वाचन प्रहरीको रमाइलोका कारण अनेकौं प्रश्न पनि उठेका छन्। के सुरक्षाकर्मीले यस्तो सार्वजनिक प्रस्तुति दिन मिल्छ? ‘हामीले कहिल्यै जिम्मेवारीभन्दा माथि रमाइलोलाई राखेका छैनौं,’ निर्वाचन प्रहरी विनिता सुनाउँछिन्, ‘ड्युटीमा पूर्ण ध्यान हुन्छ। भिडियोहरू प्रायः तालिम वा फुर्सदको समयमा बनाइएका हुन्छन्।’

मनोवैज्ञानिक पक्ष

तनावपूर्ण ड्युटी, लामो समय उभिनुपर्ने अवस्था, सम्भावित झडपको डर आदि । यी सबैबिच हल्का रमाइलोले मानसिक स्वास्थ्य सन्तुलित राख्न मद्दत गर्ने कतिपयको बुझाइ छ। मनोविज्ञहरूका अनुसार सामूहिक नृत्य वा हाँसोले ‘स्ट्रेस हार्मोन’ घटाउँछ। उनीहरूका रमाइला दृश्यले निर्वाचन प्रहरीको खुसी देखाएको छ। यसले समग्रमा निर्वाचन उत्सव भएको झल्काउँछ।

 ‘लोकतन्त्रको यो नृत्यमा जब प्रहरीको बुटले ताल समाउँछ तब त्यो केवल पहरा होइन, उत्सव बन्छ,’ निर्वाचन प्रहरीको टिकटक नृत्य हेरेपछि हरिहर पुडासैनी काव्यात्मक ढंगबाट लेख्छन्, ‘ढोकामा उभिएको प्रहरी केवल सुरक्षाकर्मी मात्र हुँदैनन्, ऊ लोकतन्त्रको नाचको मौन कलाकार पनि हुन्छ।’

उनले भनेजस्तै निर्वाचन प्रहरी मात्रै होइन, समग्र नागरिक लोकतन्त्रको यो नाचमा मौन नाचेका छन्। ‘नाच्न त हामी पनि नाचेका छौं,’ सामाजिक सञ्जालमा अप्सरा थापा लेख्छिन्, ‘तर हामीसँग निर्वाचन प्रहरीको जस्तो पोसाक मात्र नभएको हो।’

प्रकाशित: १९ फाल्गुन २०८२ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App