भदौ २३ र २४ गतेको आन्दोलपछि एकाएक चर्चामा आएको जेन-जी पुस्तामा संलग्न युवाहरुले देशव्यापी सञ्जाल निर्माण गर्ने क्रममा जिल्ला जिल्लामा समिति गठन गर्न थालेका छन् । यसै सिलसिलामा कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा संयोजक तोकेको छ ।
जस अन्तर्गत उदयपुरमा सुरेन्द्र सामपाङ राई संयोजक तोकिएका छन् । बुधबार प्रदेश संयोजक उपार्जुन चामलिङको अध्यक्षतामा बसेको प्रदेश समिति बैठकले जिल्ला संयोजकहरु तेक्ने क्रममा उदयपुरमा सुरेन्द्र छानिएका हुन् ।
उदयपुरमा सामपाङ संयोजक तोकिँदा धनकुटामा सिरज जोशी, पाँचथरमा कुशल जबेगु लिम्बू, ओखलढुङगामा सुजन वाम्बुले राई, संखुवासभामा नगेश राई, इलाममा भिमसेन लिम्बू, सोलुखुम्वुमा करिना राई र सुनसरीमा नविन राईले संयोजकको जिम्मा पाएका छन् । प्रदेश सचिवालयका अनुसार बाँकी जिल्लाहरुमा पनि संयोजक तोक्ने काम भईरहेको छ ।
बिग्रदो राजनीतिक परिदृष्यलाई सङ्लो बनाउने उदेश्यका साथ बिद्रोहमा उत्रिएका जेन-जी पुस्ताको आन्दोलनको क्रममा भदौ २३ गते भएको प्रदर्शन र सरकारी दमनले धेरै नेपालीले ज्यान गुमाए भने देशको प्रशासनकी केन्द्र सिंहदरबार, सर्वोच्च अदालतसहितका संरचना ध्वस्त भएका छन् ।
प्रकाशित: १९ कार्तिक २०८२ २०:१३ बुधबार





