राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले पुराना राजनीतिक दलहरूमा व्याप्त ‘झोले प्रवृत्ति’ का कारण मुलुक बन्न नसकेको टिप्पणी गरेका छन्।
नागरिक न्युजको डिजिटल संवाद ‘नागरिक फ्रन्टलाइन’ मा प्रधानसम्पादक गुणराज लुइटेलसँग कुरा गर्दै उनले सुशासन र रूपान्तरणकै लागि आफूले नयाँ शक्ति रोजेको बताएका हुन्।
लामो समय प्रहरी सेवामा रहेका पूर्व एआईजी पोखरेलले पुराना दलहरूको कार्यशैली र संस्कारका कारण नागरिकमा ठूलो वितृष्णा पैदा भएको उल्लेख गरे।
‘आफ्ना नेताले जे गरे पनि चुपचाप सहने र गलतलाई गलत भन्न नसक्ने झोले संस्कारले देश अघि बढ्दैन,’ उनले भने, ‘नयाँ पार्टीमा युवाहरूको नेतृत्व छ, यहाँ सुन्ने र आफूलाई बदल्ने लचकता छ। त्यसैले मैले रास्वपा रोजेको हुँ।’
उनले आफूलाई पार्टी सभापति रवि लामिछानेले निर्वाचनअघि नै पटक-पटक प्रस्ताव गरेको सुनाए। सुरुमा काठमाडौं क्षेत्र नं-३ बाट उठ्न प्रस्ताव आए पनि पछि परिस्थितिवश आफूले ढिलो गरी मात्र निर्णय लिएको उनले बताए।
प्रकाशित: २ वैशाख २०८३ १९:५३ बुधबार





