६ वैशाख २०८१ बिहीबार
राजनीति

मतदानस्थलमा खटिए कर्मचारी

बागलुङ मतदान केन्द्रमा जाने तयारी गर्दै सुरक्षाकर्मी। तस्बिरः रासस

आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन कर्मचारीहरू ८१ प्रकारका निर्वाचन सामग्री लिएर मतदानस्थलमा खटिएका छन्।

विकट हिमाली तथा पहाडी जिल्लामा निर्वाचन सामग्री, तालिम, नियुक्ति सबै प्रक्रिया पूरा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा कर्मचारी खटाएको हो। सुगम केही जिल्लामा भने बिहीबारदेखि कर्मचारी खटाइएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा खटाइएका कर्मचारीलाई आवश्यक निर्वाचन सामग्री उपलब्ध गराइएको छ। उनीहरूलाई न्यूनतम दुई दिनको तालिम दिइएको छ।

जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले मातहतका मतदानस्थल र मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ। ७७ वटै जिल्लामा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचनका लागि देशभर २ लाख ४६ हजार कर्मचारी परिचालन गरिएको छ।

यसपटक निर्वाचन आयोगले कर्मचारी, कैदीबन्दी, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई समेत समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था मिलाएको छ। मतदाता नामावलीमा एकजना मात्र कैदीबन्दीको नाम भए पनि उसका लागि कारागारमा छुट्टै मतदान केन्द्र राखिएको आयोगका कर्मचारीहरूले बताएका छन्। कैदी बन्दी कारागारबाहिर गएर मतदान गर्ने अवस्था नभएकाले कारागारमै बुथ राखिएको हो। जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार सिंहदरबारभित्र र वरिपरिका कर्मचारीहरूले सहज ढंगबाट मतदान गरुन् भन्ने उद्देश्यले बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र राखिएको छ। त्यहाँ नेपाली सेनाका जवानहरूले पनि मतदान गर्ने व्यवस्था मिलाइएको छ। यसैगरी सशस्त्र प्रहरी बल बलम्बुमा सशस्त्र प्रहरीहरूका लागि छुट्टै मतदान केन्द्र राखिएको छ।

यसैगरी केन्द्रीय कारागार काठमाडौं तथा डिल्लीबजार कारागारमा मतदान केन्द्र राखिएको छ। ललितपुरको हकमा नक्खु कारागारमा मतदान केन्द्र राखिएको छ।

आयोगका अनुसार देशभर २२ हजार २२७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र राखिने भएका छन्। यसैगरी करिब १० हजार ८०० मतदानस्थल राखिएको आयोगले जनाएको छ। आयोगका अनुसार यसपटक एउटा मतदान केन्द्रमा ११ देखि १३ जनासम्म कर्मचारी रहने भएका छन्।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सञ्चालन (आर्थिक कार्यविधि) अनुसार निर्वाचनमा खटिने कर्मचारीलाई ८१ थरी निर्वाचन सामग्री उपलब्ध गराउनुपर्ने व्यवस्था छ। त्यसमा डेस्कटप कम्प्युटर, टोनर, इन्भर्टर, प्रिन्टर, युएसबी डंगोल डिभाइस (इन्टरनेटका लागि), हार्ड डिस्क, सर्भर तथा स्टोरेज पूर्वाधार, डाटा सेन्टरसम्बन्धी पूर्वाधार, मतदाता नामावली, मतपेटिका, सुरक्षण सिल, स्वस्तिक छाप (रबर), स्टाम्प प्याड मसी, मार्कर पेन, पुसपिन (प्याकेट), स्केल, स्टापलर पिन, ग्लुस्टिकलगायत सामग्री निर्वाचनमा खटिने कर्मचारीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ।

यसैगरी अन्य सामग्रीमा निर्वाचनमा खटिने कर्मचारीहरूका लागि ल्यापटप कम्प्युटर, फोटोकपी मेसिन, इन्भर्टर युपिएस ब्याट्री, फोटोकपी पेपर, राउटर, पेनड्राइभ, जेनेरेटर, नेटवर्क पूर्वाधार, भोटर रजिस्टर सिस्टम, मतपत्र, सुरक्षण सिल, नउड्ने मसी भएको मार्कर पेन, मतपेटिका स्टिकर, अनुसूची फाराम, छेकाबारा, लाहा, स्टयाम्प प्याड, क्लिप पिन, स्ट्यापलर मेसिन, कैची, सोसर, पन्चिङ मेसिन छन्।

त्यस्तै मतदाता, कर्मचारी, उम्मेदवार, निर्वाचन स्वयंसेवक, मतदान प्रतिनिधि, मतगणना कर्मचारीका परिचयपत्र र कार्ड होल्डर पनि निर्वाचन सामग्रीमै पर्छन्। ‘भित्र’, ‘बाहिर’, ‘पुरुष’, ‘महिला’, ‘धूमपान निषेध’, ‘हातहतियार निषेध’, ‘मतदान केन्द्र’, ‘अन्य’ लेखिएका छुट्टाछुट्टै कार्ड पनि त्यसमा रहेका छन्। अरू सामग्रीमा प्लास्टिक बोरा, निर्वाचन आचारसंहिता, प्याकिङ टेप, मतपत्र राख्ने नेपाली खाम, रेकर्ड फायल, सियो, फलाटिन कपडा, कोरा कपडा थैली, जेलपेन, मैनबत्ती, पोलबु, मतदात क्रमसंख्या, प्लास्टिक थैलो, नेपाली कागजको चार किसिमको खाम, सेतो कागज, धागो, बोरा सिलाउने मिल्ने सियो, सलाई, जेलपेन, कोरा, कपडा, इन्डेक्स/रिङ फाइल उपलब्ध गराउनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ।

आयोगका अनुसार २५० मतदाता भएको मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृतसहित नौजना, २५० देखि ५०० सम्म मतदाता भएको मतदान केन्द्रमा एकजना अधिकृत, एकजना सहायक अधिकृतसहित ११ जना कर्मचारी खटाउने व्यवस्था गरिएको छ। यसैगरी २५० मतदात भएको अस्थायी मतदान केन्द्रमा एकजना अधिकृतसहित चारजना, २५० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा एकजना अधिकृतसहित पाँचजना कर्मचारी खटाउने व्यवस्था गरिएको छ।

प्रकाशित: २ मंसिर २०७९ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App