३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनलाइ लौरो अभियानको समर्थन

रुपन्देही क्षेत्र नं. २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले सत्ता गठबन्धनका उम्मेदवारलाइ समर्थन गरेको छ। 

यसअघि हाम्रो नेपाली पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका निकोलस भनिने कमल भुसालको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरीदिएको थियो।

बुधबार बुटवलमा गठबन्धनले गृहमन्त्री बालकृष्ण खाणको अतिथ्यतामा गरेको पत्रकार सम्मेलनमा हाम्रो नेपाली पार्टीका महामन्त्री तुल्सीराम भुसालले लौरो अभियानले रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवारहरुलाइ सर्मथन गरेको स्पष्ट पारे।

पत्रकार सम्मेलनमा गृहमन्त्री तथा रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण खाणले सत्तागठबन्धनको मतभार नै बढी रहेको रुपन्देही २ मा लौरो अभियानले समेत समर्थन गरेपछि जित सुनिश्चित भएको दावी गरे। नेता खाणले विपक्षीहरुले जनतालाइ दिग्भ्रमित बनाउने गरी प्रचार गरेको भन्दै जनताले सहि र गलतको पहिचान गरी योग्य व्यक्ति छनौट गर्ने समय आएको बताए। रुपन्देहीमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल लगायतका ठुला आयोजानाहरु काँग्रेसकै पालामा सुरु गरी सम्पन्न गरीएपनि एमाले र राप्रपाका उम्मेदवारहरुले अहिले सबै विकास आफुले गरेका भनेर जनता झुक्याइरहेको बताए।

पाँच दलिय गठबन्धन एउटै उद्देस्य बोकेका दलहरु बिचको गठबन्धन भएकाले यो अग्रगामी र प्राकृतिक भएको पनि उनले बताए। पाँच दलिय गठबन्धनले मात्रै संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दे देशलाइ विकासको युगमा डोर्याउन सक्ने बताए।

राप्रपा जस्तो पश्चगामी शक्तिसंग एमालेले गरेको गठबन्धन भने अप्र्राकृतिक रहेकाले त्यसबाट देशलाइ खतरा रहेको गृहमन्त्री खाणले बताए। अप्राकृतिक गठबन्धनले देशलाइ दुर्घटनामा लैजान सक्ने भन्दै  उनले पाँच दलिय गठबन्धनका उम्मेदवारलाइ मत दिएर जिताउन र देशलाइ विकासको युगमा डोर्याउन आग्रह पनि गरे।

रुपन्देही क्षेत्र नं.२ का गठबन्धनका उम्मेदवार केशव बहादुर थापाले एमाले उदाउदो सुर्य नभएर ग्रहण लागेको सुर्य भएकाले राष्ट्रिय हितकालागि यो हानीकारक हुने बताए।

एमालेबाट यसअघि पटक पटक निर्वाचन जितेका विष्णु पौडेलले विवादित कामहरु गरेको र झुटा आश्वासन मात्रै बाँडेको भन्दै उनले यसपटक आफुहरुलाइ मत दिएर जिताउन मतदातासंग आग्रह पनि गरे। क्षेत्र न २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार दीर्घबाहादुर केसी कुमारले एक पटक आफुहरुलाइ परिक्षण हुने मौका दिन आग्रह गर्दै जनताको माग आवश्यकता र अवस्था अनुरुप मानविय, सामाजिक र भौतिक विकासका काम गरेर देखाउने प्रतिवद्धता जनाए। क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार बामदेव क्षेत्रीले बुटवललाइ राजधानी बनाउछु भनेर २०७४ को निर्वाचनमा जनता झुक्याएका एमाले नेताहरु बिष्णु पौडेल, लिला गिरी र भोजप्रसाद श्रेष्ठले यसपाली पनि जनतालाइ झुटो आश्वासन बाँडेर मत मागीरहेकाले सचेत हुन आग्रह गरे।

बुटवलबाट राजधानी सार्न प्रस्तावक, समर्थक बसेका नेताहरुलाइ जनताले नै हराएर आफुहरुलाइ काम गर्ने अवसर दिने विश्वास उनले व्यक्त गरे।  

हाम्रो नेपाली पार्टी (लौरो अभियान) का महामन्त्री भुसालले एमालेका उम्मेदवार बिष्णु पौडेलले आफना उम्मेदवार निकोलस भुसालको राजनीतिक भ्रुण हत्या गरेको भन्दै अब युवाहरु एकजुट भएर प्रतिगमनकारी पौडेललाइ हराउनु पर्ने बताए। ‘अब युवालाइ साथमा लिएर हामी सबै जाग्नु पर्छ ,एकजुट भएरु प्रतिगमनकारी बिष्णु पौडेल र प्रदेशका लिला गिरी र भोजप्रसाद श्रेष्ठलाइ रुपन्देहीबाट हराउनु पर्छ र अग्रगमनलाइ विजयी बनाउनु पर्छ’ लौरो अभियानका महामन्त्री भुसालले भने।

प्रकाशित: ३० कार्तिक २०७९ १७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App