४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोक २, प्रदेश (क): एउटै पृष्ठभूमिका पूर्वमन्त्री र मेयरबीच प्रतिस्पर्धा

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा (क) मा गठबन्धन र एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादीका युवराज दुलाल (शरद) प्रतिस्पर्धामा छन्। एमालेका अमानसिं तामाङ एक्लै चुनावी मैदानमा भिडिरहेका छन्।  

माओवादी पोलिट्व्यूरो सदस्य दुलाल बागमती प्रदेशका निवर्तमान सांसद र पूर्वसामाजिक विकासमन्त्री हुन्। उमेरले ४० वर्षका उनी माओवादी जनमूक्ति सेना पृष्ठभूमिबाट राजनीतिमा उदाएका नेता हुन्। मुख्य प्रतिस्पर्धी दुलाल र तामाङ पूर्वसहकर्मीसमेत हुन्। माओवादी पृष्ठभूमिका तामाङ साढे दुई महिनाअघि मात्र एमाले प्रवेश गरेका थिए।  

२०७४ को स्थानीय चुनावमा उनी माओवादीबाट उम्मेदवार बनेर चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर निर्वाचित भएका थिए। माओवादी जनयुद्धबाटै राजनीतिमा उदाएका तामाङ गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा पुनः दोहोरिन चाहन्थे । पार्टीले टिकट नदिएपछि चित्त दुखाउन थालेका उनले अन्त्यत एमाले प्रवेश गरेर डेढ महिनापछि नै प्रदेशको टिकट पाए।  

माओवादीका दुलाल यस क्षेत्रमा लोकप्रिय छन्। बागमती प्रदेश सरकारमा सुरुवाती ३३ महिना सामाजिक विकासमन्त्री बन्दा गरेका कामले उनले लोकप्रियता कमाएका हुन्। उनले ल्याएका चौतारा रंगशाला, दिनेश–रामजी बहुप्राविधि महाविद्यालय लगायत आधा दर्जन महत्वकांक्षी योजना अहिले अन्तिम चरणमा पुगेका छन्। सो कार्यकालमा दुलालले साना–ठूला झण्डै चार सय योजना आफ्नो क्षेत्र र जिल्लामा ल्याएका थिए। यी कामले जिल्लामा उनले विकासवादी नेताको छवि बनाएका छन्।  

चौतारा नगरको मेयर बन्दा गरेका कामले एमालेका तामाङ जनपक्षीय नेताको रुपमा आफूलाई स्थापित गर्न सफल भएका थिए। त्यही कामलाई उनी प्रदेशका अन्य क्षेत्रमा लगेर मत बटुल्न सक्रिय छन्। दुलालको युवा माझ ठूलो ‘क्रेज’ छ। तामाङ आफ्नो जातिगत समुदायमा लोकप्रिय छन्। जनयुद्धकालमा तामाङ र दुलालबीच राजनीतिक गुरुचेलाको सम्बन्ध थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि तामाङलाई सबै कार्यकर्ताले अमान–बा भनेर सम्बोधन गर्थे। दुलाल पनि उमेरले ७० पुग्न लागेका तामाङलाई बा भन्थे।  

२०७४ को स्थानीय चुनावमा दुलाल चौतारा नगरको मेयरको उम्मेदवार बन्न चाहन्थे। टिकट उनको नाममा आइसकेको थियो। तामाङले पनि बलियो दाबी र अडान राखेपछि अन्तिम समयमा दुलाल पछि हटेका थिए। गुरुचेला, सहकर्मी, बाबु–छोरा हुँदै कुनै बेला एउटै पार्टीबाट टिकटको प्रतिस्पर्धा गरेका उनीहरु अहिले संयोगले दुई विपरित दलबाट चुनावी मैदानमा आमने–सामने भएका छन्। त्यसैले यहाँको चुनाव रोचक हुने देखिन्छ।  

२०७४ को प्रदेश सभा निर्वाचनमा दुलाल यसै क्षेत्रबाट निर्वाचित भएका थिए। एमाले समेतको मतमा २० हजार ६ सय ८७ भोट ल्याएर उनी निर्वाचित भएका थिए। सात हजारभन्दा बढीको मतान्तरले जित्ने क्रममा उनले कांग्रेसका विकास तामाङलाई हराएका थिए। उनले १३ हजार ५ सय २१ मत मात्र पाएका थिए।  

प्रदेश (क) मा चौतारा साँगाचोकगढी नगरपालिकाको नौ वटा वडा, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरको ९, १० र १३ नम्बर वडा समेटिएका छन्। पछिल्लो स्थानीय तहको मतपरिणाम अनुसार यहाँ गठबन्धनको पल्लाभारि छ। वडाध्यक्षहरुले ल्याएको भोटको आधारमा यहाँ गठबन्धसँग २५ हजार ६ सय ४८ मत देखिन्छ।  

एमाले एक्लैसँग १३ हजार ४ सय ४९ मत छ। गठबन्धनका कांग्रेसले १३ हजार २ सय ६८, माओवादीले ११ हजार ५ सय ५१ र एकीकृत समाजवादीले ८ सय २९ मत ल्याएका थिए।  

कांग्रेसको मत संरक्षण गर्दै ढुक्कले पुनः जित निकाल्ने दुलालको रणनीति छ। आफ्नो लोकप्रिय व्यक्तित्वका माध्यमले अन्य पार्टी र अस्थिर मतदाताको मन जितेर त्यसलाई मतमा बदल्दै मतान्तर फराकिलो बनाउने उनको दाउ छ। गठबन्धनका कारण असन्तुष्ट कांग्रेस कार्यकर्ताको सबै मत पाउन उनलाई चुनौती देखिन्छ।  

एक्लै प्रतिस्पर्धामा भए पनि तामाङलाई बलियो एमालेको साथ छ। कांग्रेसका असन्तुष्ट कार्यकर्ता, जनजाति मतदातामाझ खेल्ने विकल्प उनैलाई छ। आफू पूर्वमाओवादी भएकाले त्यसका असन्तुष्ट कार्यकर्ताको मत बटुल्ने बिकल्प पनि तामाङसँगै छ। सबै विकल्पमा खेलेर राप्रपा लगायत अन्य दलका अस्थिर मतदाताको मत लिँदै बाजी मार्ने दाउमा तामाङ छन्।  नवप्रवेशी टिकट पाएको भन्दै एमालेमा केही असन्तुष्टि समेत छ। त्यस्ता कार्यकर्ताको मन जित्नुपर्ने चुनौती तामाङसामू छ।  

प्रकाशित: ३० कार्तिक २०७९ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App