१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं ३ मा चालिसे र राईबीच मुख्य प्रतिस्पर्धा

एमालेका कृष्णबहादुर राई र कांग्रेसका सन्तोष चालिसे।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जित सुनिश्चित पार्न नेताहरू देशभर घरदैलो कार्यक्रममार्फत मत माग्न मतदातासमक्ष पुगिरहेका छन्। कोही राजनीतिक दल त कोही स्वतन्त्र रूपमा मतदाता रिझाउन प्रयासरत देखिन्छन्। सत्ता गठबन्धन र विपक्षी गठबन्धनका साथै नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। त्यहाँ नेपाली कांग्रेसका सन्तोष चालिसे र एमालेका कृष्णबहादुर राई मुख्य प्रतिस्पर्धी छन्। निर्वाचित भएपछि मतदातानिकट हुन नसकेका राईलाई पाँच वर्षसम्म यस क्षेत्रमा सक्रिय भएर काम गरेका चालिसेले टक्कर दिएपछि प्रतिनिधिसभा सदस्य निर्वाचन रोचक बनेको छ।

मेयर हुँदा उत्कृष्ट नगरपालिकाको उपाधि जिताएका कांग्रेसका चालिसेले गोकर्णेश्वर नगरपालिकामा फोहोर व्यवस्थापनका लागि भिœयाएको जापानी प्रविधि सफल मानिन्छ। तीन निर्वाचन क्षेत्रमध्ये दुई स्थानीय तहको मेयर कांग्रेसको रहेको र आफूले पूर्वमेयर भएको आधारमा जित्ने दाबी कांग्रेसका चालिसेले गरे। ‘विगत ४० वर्षदेखि यस क्षेत्रका नागरिकसँग निकट रहेर काम गरेको हुँदा संसद्मा मैले यहाँको प्रतिनिधित्व गरेर समस्या समाधानको निम्ति नीतिगत रूपमा पहल गर्ने हो’, उनले भने, ‘यस क्षेत्रको प्रतिनिधित्व गरेर संघीयदेखि प्रदेश सरकारमार्फत यहाँका समस्या समाधान गर्न लागिपर्ने छु।’

काठमाडौं ३ मा सुकुम्बासीको ठूलो समस्या रहेको भन्दै कांग्रेसका चालिसेले भने, ‘सुकुम्बासी आयोगद्वारा समस्या निराकरण गरी उनीहरूको स्थायी बसोबासका लागि आवाज उठाउनु छ। सुन्दरीजलमाथि आवतजावत गर्दा पैसा तिर्नुपर्ने अवस्था छ। त्यसलाई हटाउनेदेखि निःशुल्क प्राथमिक स्वास्थ्य सेवा, महिला सुरक्षा र निःशुल्क ज्येष्ठ नागरिकलाई उपचारलगायतमा केन्द्रित भएर काम गर्ने छु।’ काठमाडौं ३ मा रहेको सडक समस्या सुधार्न पूर्वमेयर चालिसेले जोरपाटीदेखि सुन्दरीजलसम्मको सडक कालोपत्रे गराएका थिए। उनकै पहलमा बागमती सफा गराउन पानी बगाउने तथा काठमाडौंमा पानीको रिचार्ज गर्न ड्याम निर्माण भएको थियो। त्यसबाहेक नारायणचौर चोकदेखि गोकर्णसम्मको सडक विस्तार र कालोपत्रे नहुँदा स्थानीय आक्रोषित भएका छन्। जोरपाटीदेखि सुन्दरीजलसम्मको सडक कालोपत्रे भए पनि यस क्षेत्रका उम्मेदवारले जगडोल, महाँकाल, गागलफेदी, मूलखर्क र तारेभीर क्षेत्रका सडक स्तरोन्नति गर्ने एजेन्डामा जोड दिएका छन्। यस क्षेत्रमा मेलम्चीबाट काठमाडौंमा वितरण हुनका लागि आइपुग्ने पानी संकलन केन्द्र हुने गरेको छ तर यहाँका स्थानीय खानेपानीबाट वञ्चित भएको हुँदा कांग्रेसले यसलाई आफ्नो एजेन्डामा समेटेको छ।

०७४ सालको निर्वाचनमा एमालेले पाएको सफलता र स्थानीय तह निर्वाचनमा धेरै वडा जितेका आधारमा एमालेले यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आफूले जित्ने दाबी गरेको छ। ‘वडाध्यक्ष र सांसदले गर्ने कामको भिन्नताबारे यस क्षेत्रका मतदाताले बुझ्न आवश्यक छ’, एमालेका नेता राईले भने, ‘सांसदसँग आर्थिक अधिकार नभए पनि प्रतिनिधिसभामा आफ्नो क्षेत्रको प्रतिनिधित्व गरेर राष्ट्रियस्तरको नीति निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने हो। स्थानीय निर्वाचनमा व्यक्ति छनोट गर्ने हो भने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार र दलको एजेन्डा हेरेर मत दिने हो। एमाले समृद्ध नेपाल, सुखी नेपालीको नारासहित तयार पारेको योजनाका साथ अघि बढेको छ। त्यसैलाई आधार मानेर मतदाताले पार्टीलाई मत दिने हो।’ सांसदले नीति तथा कानुन बनाउने हो’, एमालेका राईले भने, ‘एमालेको घोषणापत्रअनुसार यस क्षेत्रको विकास निर्माणमा मैले जोड दिने हुँदा निर्वाचन जिते घोषणापत्रमा समावेश भएका एजेन्डालाई कार्यान्वयनमा ल्याउन लागिपर्ने छु।’

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविक जोरपाटी गाउँपालिकाका जनप्रतिनिधि रहेका नेकपा एमालेका राई निर्वाचित निवर्तमान सांसद् हुन्। २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार बनेका एमालेका राईले कांग्रेस नेत्री अम्बिका बस्नेतलाई पराजित गरेका थिए। उनी १९ हजार १६९ मत पाएर विजयी भएका थिए भने कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत पाएकी थिइन्। काठमाडौं ३ प्रदेशसभा (क) मा कांग्रेसका छिरिङदोर्जे लामा ६ हजार ४४८ र प्रदेशसभा (ख) मा एमालेका रामेश्वर फुँयाल १० हजार ९ सय ९६ मतसहित विजयी भएका थिए। कांग्रेसका चालिसे यसअघिका गोकर्णेश्वर नगरपालिकाका मेयर हुन्। उनी नेपाली कांग्रेसको काठमाडौं ३ का क्षेत्रीय सभापति हुन्।

यस क्षेत्रमा काठमाडौं महानगरपालिका वडा नं ६ सहित गोकर्णेश्वरका सबै ९ वटा वडा र कागेश्वरी नगरपालिकाका वडा नं १, २ र ३ पर्छन्। स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको यस क्षेत्रअन्तर्गत गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपक रिसाल, कागेश्वरी नगरपालिकामा गठबन्धनबाट मेयरमा कांग्रेसका उपेन्द्र कार्की र काठमाडौं महानगरपालिका वडा नं ६ को वडाध्यक्षमा कांग्रेसका भुवन लामाले जितेका थिए। स्थानीय तह निर्वाचनमा काठमाडौं ३ को मुख्य हिस्सा गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपक रिसाल विजयी हुँदा उपमेयरसहित नौमध्ये पाँच वडामा एमाले विजयी भएको थियो। त्यस्तै कांग्रेसले तीनवटा वडा र एक स्वतन्त्रले जितेका थिए। यस क्षेत्रअन्तर्गत पर्ने कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ र ३ मा एमाले र २ मा कांग्रेसले जितेको थियो। कुल १३ वडा रहेको काठमाडौं क्षेत्र नं ३ मा कुल ५८ हजार ८८ सय ९ मतदाता रहेका छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App