मुलुकमा २०६२/६३ सालको राजनीतिक परिवर्तनसँगै मधेसको राजनीतिमा पनि परिवर्तन आयो। नेपाली कांग्रेसको आधारभूमि मानिएका मधेसका बारा, पर्सा, सिरहा, सप्तरी, महोत्तरीलगायत आठ जिल्लामा २०६२/६३ को राजनीतिक परिवर्तनसँगै खुलेका नयाँ दलले पकड जमाउन पुगे। कांग्रेसमै रहेका धेरै नेताले क्षेत्रीय दल खोलेर मधेसका मुद्दालाई मुखरित गर्दै आए। तर डेढ दशकको क्रममा सत्ता लिप्साका कारण भएको विवाद र विभाजनले मधेसकेन्द्रित दल मधेस प्रदेशमै कमजोर बन्न पुगे। यसैकारण मधेस प्रदेशमा मधेसकेन्द्रित दललाई मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सहज देखिएको छैन।
मधेसलाई आफ्नो आधारभूमि बताउने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले कांग्रेस र एमालेले नेतृत्व गरेका अलगअलग गठबन्धनसँग चुनावी तालमेल गरेका छन्। ठाकुर नेतृत्वको लोसपा कांग्रेस नेतृत्वको गठबन्धनमा र यादव नेतृत्वको जसपा एमालेसँग गठबन्धनमा छन्। यी दुवै दलले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा क्रमशः राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपाल नामबाट प्रतिस्पर्धा गरेका थिए।
सत्ता र शक्तिका लागि एकता र विभाजनमा एक चक्कर पार गरेका यी दुई दलका लागि कांग्रेस, एमालेसहित परम्परागत शक्ति मात्र होइन, सिके राउत नेतृत्वको जनमत पार्टी पनि थप चुनौती बनेर उभिएको छ। मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभा सदस्यका ३२ निर्वाचन क्षेत्र छन्। मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि लोसपाले नौ क्षेत्र र जसपाले १७ क्षेत्रमा उम्मेदवारी दिएका छन्। यसरी हेर्दा यी दुई दल मधेस प्रदेशका सबै क्षेत्रमा उम्मेदवारी दिन असफल भएका छन्। उम्मेदवारी दिएका मध्ये केही क्षेत्रमा यी दलका उम्मेदवारले विद्रोहीको सामना गर्नुपरेको छ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मधेस प्रदेशका पालिकामा वडाध्यक्षले पाएको मतलाई आधार बनाउने हो भने जसपा प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्रमध्ये सिरहा २ र ४, सप्तरी २ र ३, महोत्तरी ३ र पर्सा १ मा मात्र कांग्रेस, एमाले, माओवादी केन्द्र र लोसपाभन्दा अघि देखिन्छ। त्यस्तै वडाध्यक्षले नै पाएको मतका आधारमा एमालेभन्दा कांग्रेस २४ निर्वाचन क्षेत्रमा अघि छ। वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेस नेतृत्वको गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी) २५ क्षेत्रमा अघि देखिन्छ। जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एमालेका वडाध्यक्षले पाएको मतलाई आधार बनाउँदा एमाले नेतृत्वको गठबन्धन सात क्षेत्रमा अघि छ।
एमाले नेतृत्वको गठबन्धन बारा २ र ३, पर्सा १ र २, सिरहा ३ र ४ का साथै सप्तरी १ मा मात्र अघि छ। अन्यमा सत्ता गठबन्धन अघि देखिन्छ। विपक्षी गठबन्धन अघि रहेका पर्सा १ बाहेक क्षेत्रमा झिनो मतान्तरले अघि छ। तर सत्ता गठबन्धन अघि रहेका पर्सा ४ सहितका केही क्षेत्रबाहेक अन्यमा मतान्तर बढी देखिन्छ। विपक्षी गठबन्धनमा रहेको राप्रपा एक्लैले मधेस प्रदेशका २६ क्षेत्रमा उम्मेदवारी दिएको छ। उसले पाएको मतलाई हेर्ने हो भने विपक्षी गठबन्धन थप कमजोर देखिन्छ।
२०७४ सालको संसदीय निर्वाचनमा कांग्रेस, माओवादी र राजपा तथा एमाले, राप्रपा र संघीय समाजवादी फोरमले पाएको मत हेर्दा विपक्षी गठबन्धनले पछिल्लो स्थानीय तह निर्वाचनमा केही मत गुमाएको देखिन्छ। २०७४ सालमा समानुपातिकतर्फ पाएको मतलाई आधार बनाउँदा कांग्रेस नेतृत्वको गठबन्धन २२ र विपक्षी गठबन्धन १० क्षेत्रमा अघि छन्। समानुपातिक मत हेर्दा बारा, पर्सासहित जिल्लामा तत्कालीन राजपाले र सिरहा, सप्तरीतिर तत्कालीन संघीय समाजवादी फोरमले बढी मत पाएको देखिन्छ।
यी दुई निर्वाचनमा दलहरूले पाएको मतलाई मात्र आधार बनाउँदा सत्ता गठबन्धनका उम्मेदवार मंसिर ४ को निर्वाचनमा हाबी हुने देखिन्छ। तर राउत नेतृत्वको जनमत पार्टीसँगै खुलेका नयाँ दल र दुवै गठबन्धनभित्रको आन्तरिक किचलोले निर्वाचन परिणामको सोझो आकलन गर्न कठिन छ।
मधेस प्रदेशमा प्रतिनिधिसभाका १५ क्षेत्रमा जसपा–एमाले गठबन्धनविरुद्ध विद्रोही उम्मेदवार छन्। जसमा ८ उम्मेदवार एमालेविरुद्ध नै छन्। मधेस प्रदेशसभा सदस्यका लागि प्रभु साह समूहले १७ स्थानमा उम्मेदवार खडा गरेको छ। साहले उम्मेदवारी मनोनयनको अन्तिम समयमा एमालेबाट विद्रोह गरेका हुन्। साह रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। उनलाई सत्ता गठबन्धनको समर्थन रहेको छ।
एमालेले त्यहाँ उम्मेदवारी दिन नपाएपछि कांग्रेसबाट बागी बनेका ओमप्रकाश जयसवाललाई समर्थन गर्ने भनेको छ। कांग्रेसका महाधिवेशन प्रतिनिधि ओमप्रकाश ज्योति डिस्टिलरी र बाबा बैजुनाथ सुगर मिलका सञ्चालक हुन्।
सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टी अध्यक्ष राउत प्रतिस्पर्धामा छन्। त्यहाँ सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुर उम्मेदवार छन्। सप्तरी १ मा जसपाका नबलकिसोर साह सुडी र कांग्रेसका रामदेव साह उम्मेदावर छन्। साहविरुद्ध सत्ता गठबन्धनभित्रको माओवादी केन्द्रका जिल्ला इन्चार्ज अशोककुमार मण्डल बागी उम्मेदावार छन्। त्यहाँ सत्ता गठबन्धनभन्दा एमाले–जसपा गठबन्धनको मत बढी छ। सप्तरी ३ र ४ मा कांग्रेसका क्रमशः दिनेशकुमार यादव र तेजुलाल चौधरी तथा विपक्षी गठबन्धनबाट एमालेका ताराकान्त चौधरी र जसपाका बालकिसोर यादव प्रतिस्पर्धामा छन्। सर्लाही १ मा विपक्षी गठबन्धनका उम्मेदवारविरुद्ध लालबन्दीका पूर्वमेयर मानबहादुर खड्का बागी छन्। त्यहाँ विपक्षी गठबन्धनबाट जसपाका प्रमोद साह र सत्ता गठबन्धनबाट लोसपाका रामप्रकाश चौधरी प्रतिस्पर्धामा छन्। सर्लाही २ मा सत्ता गठबन्धनका राजेन्द्र महतो र महिन्द्र यादवबीच मुख्य प्रतिस्पर्धा छ। त्यहाँ एमालेका राजनारायण साह उम्मेदवार छन्। सर्लाही ४ मा सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्रकुमार रायविरुद्ध कांग्रेसकै अमरेशकुमार सिंह र माओवादी केन्द्रका मधुमला यादव बागी उम्मेदवार छन्। उक्त क्षेत्रमा सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र लोसपा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।
धनुषा २ मा सत्ता गठबन्धनभित्रैबाट कांग्रेसका रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का रामचन्द्र झा उम्मेदवार छन्। त्यहाँ एमालेबाट उमाशंकर अरगरिया उम्मेदवार छन्।
प्रकाशित: ३० कार्तिक २०७९ ००:५५ बुधबार