३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

जुम्ला २ 'ख' मा त्रिपक्षीय रोचक प्रतिस्पर्धा, स्वतन्त्रको डर

निर्वाचनको मौन अवधि सुरु हुन केही दिन मात्र बाँकी छ। मौन अवधिमा चुनावी प्रचारप्रसार गर्न नपाइने भएकाले अहिले जुम्लाका उम्मेदवारहरु मतदाता भेटघाटको चटारोमा छन्। आमनिर्वाचन आउँन अब ५ दिन मात्र बाँकी हुँदा जुम्लाको निर्वाचन माहोल चिया पसलदेखी गाउँसम्म चहलपहल निकै बढेको छ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जुम्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २ (ख) मा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री पदम रोकाया, नेकपा एमालेबाट टेकराज पछाई र स्वतन्त्रबाट धनबहादुर बस्नेतबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

राप्रपाबाट देवप्रसाद न्यौपाने र नेमकिपाका विर्षबहादुर रावतको पनि उम्मेदवारी रहेको छ। बस्नेतले नेपाली काँग्रेसले आफूलाई अन्याय गरेको भन्दै पार्टीमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। तीन दलीय सत्ता गठबन्धनको ठूलो साथ भएकोले रोकाया गठबन्धनको बहुमत पाएर जित्नेमा ढुक्क छन्।

नेकपा (एमाले)का टेकराज पछाई युवामाझ र समुदायमा राम्रो व्यक्तित्व भएका उम्मेदवार हुन्। गठबन्धनको कच्ची धाँगो चुडाएर विजयी हुने पछाईको दाबी रहेको छ। बलियो जनमतका साथ चुनावी मैदानमा उत्रिएका उम्मेदवार चुनाव जित्ने आ-आफ्नै दाबी गरिरहेका छन्। मन्त्री रोकायाले तीन दलीय गठबन्धन भएको कारणले आफू सजहै जितको नजिक रहेको बताए।

वि.स. २०७४ सालको निर्वाचनमा काँग्रेसका भीमनीधि हमाललाई पराजित गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका रोकाया त्यतिबेला एमालेको साथ थियो। पछि उनी नेकपा एसमा प्रवेश गरी मन्त्री भएका थिए। आफू मन्त्री हुँदा समग्र जुम्लासहित आफ्नो निर्वाचन क्षेत्रको उल्लेखीय विकास गरेको र सत्ता गठबन्धनका काँग्रेस र माओवादीको मतबाट आफू विजयी हुनेमा कुनै शंका नरहेको रोकायाले जनाए।

युवा रोजगारी, उद्यमशीलता र उत्पादन वृद्धि आफ्नो पहिलो एजेन्डा रहेको एमालेका उम्मेदवार पछाईले बताए। गठबन्धनका साँझा उम्मेदवार पदम रोकाया तथा एमालेका प्रभावकारी नेता टेकराज पछाई दुई वटा हेवीवेट उम्मेदवारलाई चुनौती दिन स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेत चुनावी मैदानमा उत्रिनु भएको छ। ४८ वर्षदेखि काँग्रेसको राजनीतिमा होमिएर हालसम्म पार्टीले कुनै उपयुक्त अवसर नदिएपछि काँग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ।

गठबन्धनको उम्मेदवार मन्त्री रोकाया भएपनि काँग्रेस र माओवादीको उम्मेदवार नहुँदा ती पार्टीका समर्थकको मत आफूलाई आउने स्वतन्त्र उम्मेदवार बस्नेतले जनाए। निर्वाचनका लागि जुम्लामा ८३ वटा मतदानस्थल र एक सय ६ वटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएकोे जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।

जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता छन्। प्रदेशसभा निर्वाचन (क) मा ३६ हजार ७ सउ ८३ र प्रदेशसभा (ख) मा ३१ हजार ८ सय ५५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा तिला, सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो। हिमा र कनकासुन्दरी गाउँपालिकामा काँग्रेसले पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको थियो।

एमाले पालिका नेतृत्व विहीन भएको छ। तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका गरि चारवटा स्थानीय तह प्रदेश (ख) मा पर्छन्। यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) मा सत्ता गठबन्धबाट नेपाली काँग्रेसका ललितजंग शाही, एमालेका धिरेन्द्रराज गिरी, नेमकिपाबाट राजेश्वर देवकोटा र स्वतन्त्रबाट देवेन्द्रबहादुर शाही चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित: २९ कार्तिक २०७९ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App