coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनलाई मत जोगाउनै सकस

कर्णाली प्रदेशमा पर्ने १० जिल्लाका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन हाबी देखिएको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत र २०७४ सालको आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा सो प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो।  

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पाएको मतलाई आधार बनाउँदा ११ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन अघि छ। एमाले नेतृत्वको विपक्षी गठबन्धन एउटा क्षेत्रमा मात्र अघि छ। विपक्षी गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्मिलित छन्। स्थानीय चुनावको मतलाई आधार बनाउँदा माओवादीको प्रभाव क्षेत्रका रूपमा हेरिएको कर्णालीमा विपक्षी गठबन्धन दैलेख १ मा मात्र अघि छ। उक्त क्षेत्रमा विपक्षी गठबन्धनको २१ हजार ३ सय ९७ हुँदा सत्ता गठबन्धनको मत ८ हजार ५ सय ७१ मात्र छ। बाँकी क्षेत्रमा सत्ता गठबन्धन ६ हजारदेखि २० हजारभन्दा बढी मतान्तरले अघि छ। यसलाई नै आधार बनाउने हो भने मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारका पक्षमा परिणाम आउने आकलन गर्न सकिन्छ।

अझ विपक्षी गठबन्धनबाट राप्रपाले पाएको मत अलग्याउने हो भने सत्ता गठबन्धनको अवस्था अझ मजबुत देखिन्छ। किनकि राप्रपाले त्यस प्रदेशका १२ वटै क्षेत्रमा उम्मेदवारी दिएको छ। जसपाले स्थानीय निर्वाचनमा जाजरकोटमा जम्मा २४ मत मात्र पाएको छ। यद्यपि उक्त निर्वाचनमा एमाले र कांग्रेस दुवैले एक्लाएक्लै ६/६ क्षेत्रमा अग्रता लिएका छन्। एमाले डोल्पा, जाजरकोट, दैलेख २, मुगु, सुर्खेत २ र हुम्लामा एक्लै अघि छ भने बाँकीमा कांग्रेसको अग्रता छ।

२०७४ मा दलहरूले ल्याएको समानुपातिक मतलाई आधार बनाउँदा विपक्षी गठबन्धनको अवस्था केही मजबुत देखिन्छ। कांग्रेस, माओवादी, राष्ट्रिय जनता पार्टी (राजपा), एमाले, राप्रपा र संघीय समाजवादी फोरमले पाएको मतलाई आधार बनाउँदा डोल्पा र दैलेख १ मा एमाले नेतृत्वको गठबन्धन अघि छ। बाँकी १० क्षेत्रमा सत्ता गठबन्धन अघि देखिन्छ।  

दैलेख २ मा झिनो मतान्तरले सत्ता गठबन्धन अघि देखिएको छ। तर अन्य क्षेत्रमा सत्ता गठबन्धनको अग्रता बढी छ। डोल्पामा विपक्षी गठबन्धनको मत ८ हजार ४ सय १ छ। त्यसमा राप्रपाले पाएको ३ सय ३५ मत पनि समावेश गरिएको छ भने सत्ता गठबन्धनको मत ६ हजार ६१ मात्र छ। त्यहाँ अहिले सत्ता गठबन्धनबाट माओवादीका धनबहादुर बुढा उम्मेदवार छन्। बुढासँग एमालेका गणेशबहादुर शाही प्रतिस्पर्धामा छन्।  

दैलेख १ मा २२ हजार २० विपक्षी गठबन्धनले पाएको मत छ भने सत्ता गठबन्धनले १६ हजार २ सय ६१ छ। त्यहाँबाट एमालेका रवीन्द्रराज शर्मा उम्मेदवार छन् भने सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अमरबहादुर थापा प्रतिस्पर्धामा छन्। दैलेख २ मा पनि विपक्षी गठबन्धनको १८ हजार ६ सय ८६ मत छ भने सत्ता गठबन्धनको १८ हजार ८ सय ९४ मत छ। त्यहाँ एमालेले लक्ष्मीप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनबाट कांग्रेसका दिक्पाल शाही उम्मेदवार छन्।

२०७४ को आम निर्वाचनमा समानुपातिकतर्फ पाएको मतका आधारमा एमालेले पाँच क्षेत्रमा सबैभन्दा धेरै मत पाएको देखिन्छ। माओवादीले तीन र कांग्रेसले चार क्षेत्रमा अग्रता लिएका थिए। त्यसलाई आधार बनाउने हो भने कर्णाली प्रदेशमा माओवादी केन्द्रको प्रभाव घटेको तर कांग्रेस र एमालेले अवस्था सुधारेको स्थानीय तहको मतले देखाउँछ। तर सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसले त्यस प्रदेशबाट जम्मा चार क्षेत्रमा मात्र प्रतिनिधिसभामा उम्मेदवारी दिएको छ। सुर्खेत १ मा उपसभापति पूर्णबहादुर खड्का, २ मा हृदयराम थानी, दैलेख २ मा दिक्पाल शाही र मुगुमा ऐनबहादुर शाही उम्मेदवार छन्। उनीहरूसँग एमालेका धु्रवकुमार शाही, अमृतबहादुर बुढा क्षेत्री, राजबहादुर कार्की क्रमशः प्रतिस्पर्धामा छन्। दैलेख १ मा एमालेका शर्माविरुद्ध गोपाल नेपाली बागी छन्।

त्यस्तै तीन क्षेत्रमा नेकपा एस र पाँच वटामा माओवादी केन्द्रका उम्मेदवार छन्। माओवादीले रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्तिबहादुर बस्नेत, हुम्लामा छिरिङ लामा, कालिकोटमा महेन्द्रबहादुर शाही र जुम्लामा गोमा गौतमलाई उम्मेदवार बनाएको छ। त्यहाँ पनि एमालेका नन्दराम देवकोटा, निरजप्रसाद आचार्य, दल रावल, श्री नगिन्द्र शाही र रतननाथ योगी क्रमशः प्रतिस्पर्धामा छन्। राप्रपाका उम्मेदवारहरू ज्ञानेन्द्र शाही जुम्ला र कुन्ती शाहीले दैलेख १ मा चुनौती दिएका छन्। अन्य क्षेत्रमा पनि राप्रपाका उम्मेदवार छन्। त्यस्तै नेकपा एसले सल्यानमा प्रकाश ज्वाला, डोल्पामा धनबहादुर बुढा र दैलेख १ मा अमरबहादुर थापालाई उम्मेदवार बनाएको छ। सल्यानमा ज्वालाविरुद्ध कांग्रेसका राजेन्द्रबहादुर शाहको उम्मेदवारी छ। विपक्षी गठबन्धनबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन्। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाहीविरुद्ध माओवादीकै काशीचन्द्र बराल प्रतिस्पर्धामा उत्रिएका छन्। जसले गर्दा शाही अप्ठ्यारोमा छन्।

प्रकाशित: २९ कार्तिक २०७९ ००:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App